Logo

खुम्बु पासाङल्हामु गाउँपालिकाको नयाँ बजेटको प्राथमिकतामा पर्यटन सडक


सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन सडकलाई प्राथमिकतामा राखेर नयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी  कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाको अध्यक्षतामा शुक्रबार बसेको सातौं गाउँ सभाले ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ लाई प्राथमिकतामा राखेको हो ।

सो सडकको थामडाँडादेखि गाउँपालिका केन्द्रसम्म ट्रयाक ओपनलाई पहिला प्राथमिकतामा राखिएको छ ।

आगामी आर्थिक बर्षका लागि चालु तर्फ १७ करोड ५२ लाख ४० हजार र पूँजीगततर्फ १२ करोड २७ लाख ७६ हजार रुपैयाँ बिनियोजन गरेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए ।

गाउँ सभाले गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको निधनप्रति शोक प्रस्ताब पारित गर्दै खरिखोला बसपार्कलाई बजेट बिनियोजन गरेको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष क्यान्सर कोषको स्थापना, गाउँपालिका उपाध्यक्ष सुत्केरी उद्धार कोषको स्थापना, लघु उद्यमशिल कार्यक्रम सञ्चालन, महिला स्वास्थ्य स्वयम्सेविकाका लागि पोशाक तथा यातायात खर्चको व्यवस्था गरेको छ ।

सभाले प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता किताब डिजिटाइजेसन, बेरोजगार व्यक्तिहरुले आफूसँग भएको सीप, सोच र अनुभवको आधारमा विपन्न श्रमिकहरुको जीविकोपार्जनको अवस्थालाई ध्यानमा राखी दैनिक ज्यालादारी रोजगार कार्यक्रम, सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था गर्नका लागि विद्यालयहरुलाई दिवा खाजा अनुदानलगायतका कार्यक्रमहरुलाई समेटेको छ ।

21F5EEAC-2773-4023-9E0D-94E2F013B866

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ २२:३०
प्रतिक्रिया दिनुहोस्