Logo

राष्ट्र, आम कार्यकर्ता र मत दिने जनतालाई धोका नदिन नेतृत्वलाई नेकपा सोलुखुम्बुको आग्रह


सोलुखुम्बु । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले कम्युनिष्ट एकता र स्थीर सरकारको लागि जनताले झण्डै दुईतिहाई मत दिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर बाँकी काम पूरा गर्नुको विकल्प नरहेको बताएको छ । शीर्ष नेतृत्वकाबीचमा उत्पन्न अन्तर कलह चुलिदै गएपछि जिल्ला कमिटी अध्यक्ष मानबीर राई र सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले आइतबार एक प्रेस विज्ञप्तीमार्फत आपसी असमझदारीका कारण पार्टी विभाजनतर्फ गएमा राष्ट्र, आम कार्यकर्ता तथा मत दिने जनतामाथि गम्भीर धोका हुने भन्दै स्वस्थ र मैत्रीपूर्ण बहसबाट निकास खोज्न नेतृत्वलाई ध्यानाकर्ष गराएको छ ।

‘एउटा जिवन्त र गतिशिल कम्युनिष्ट पार्टीमा बहस र छलफल हुनु स्वभाविक हो’ विज्ञप्तीमा भनिएको छ ‘यद्यपी, बहसहरुलाई जिम्मेवार र व्यवस्थित ढंगले सञ्चालन गर्न नसकेको खण्डमा यसले विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनमा टुटफुट र विभाजनको खतरा ल्याएको इतिहास साँझी छ । त्यसैले यस घडीमा कम्युनिष्ट एकता चाहाने आम नेता, कार्यकर्ता र समर्थक, शुभचिन्तक जनसमुदायको चाहाना र भावनाको कदर गर्दै अत्यन्त जिम्मेवार र विवेकपूर्ण निर्णय लिइ पार्टी एकता र सुदृढिकरणको पक्षमा अघि बढ्न नेकपा सोलुखुम्बु जिल्ला कमिटीको तर्फबाट नेतृत्वहरुलाको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

सोही विज्ञप्तीमार्फत जिल्ला कमिटीले आफ्ना कार्यकर्ताहरुलाई धैर्य गर्न, पार्टी एकताको पक्षमा भूमिका खेल्न, सकरात्मक सहयोग र सुझाव गर्न, पार्टी नेतृत्व पंक्तिलाई उत्तेजित पार्नेगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यमार्फत गालीगलौज एवं आरोपप्रत्यारोप नगर्न अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : आईतवार, २१ असार २०७७ १४:४८
प्रतिक्रिया दिनुहोस्