Logo

स्थानीय सरकारसँग कोरोनो कोषको खर्च विवरणसहितका सूचना माग


फ्रीडम फोरमले प्रदेश नं २ र बाग्मती प्रदेशको सबै जिल्लाका स्थानीय तहसँग कोरोना कोषको खर्च विवरण माग गर्दै हुलाकमार्फत सूचना दर्ता गरेको छ ।

२८ सेप्टेम्बर सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस भएकाले सोही अनुरूप फ्रीडम फोरमले उक्त महिनाभर सूचनाको हकसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै मनाउने गरेको छ ।

यसको पहिलो चरणको कार्यक्रम घोषणा गर्दै फ्रिडम फोरमले दुईवटा प्रदेशका स्थानीय तहलाई लक्षित गरी कोरोना कोषको खर्च विवरण माग गर्दै आदित्य दाहाल र सञ्जीव घिमिरेको संयुक्त नाममा आज हुलाक मार्फत् २ सय २० वटा स्थानीय तहसँग सूचना माग गर्दै निवेदन दर्ता गराएको हो ।

कोरोनासँग सम्बन्धित हालसम्म कुन बैंकमा कति रकम जम्मा भयो ? उक्त रकम कुन स्रोतबाट आएको हो ? कुन–कुन शीर्षकमा कति–कति रकम खर्च गरियो ? राहत स्वरुप सामान दिएको हो वा रकम दिएको हो ? राहत पाउनेहरूको नामावली ? क्वरेन्टीन र होल्डिङ सेन्टर बनाउन के–के सामान खरिद गरियो, उक्त बिल भरपाइको प्रमाणित प्रतिलिपि ? खरिद प्रक्रिया र २०७६ माघ महिनादेखि हालसम्म कोभिड– १९ को सन्दर्भका प्रस्तावहरूका लागि भएका कार्यपालिकाको बोर्ड बैठकका निर्णयहरूको प्रमाणित प्रतिलिपिसहितको सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ ।

यसअघि पनि सोही विषयको सूचना माग गर्दै सिन्धुपाल्चोकका १२ वटा र धनुषाका १८ वटा स्थानीय तहसँगै काठमाडौंका केही स्थानीय सरकारसँग सूचना माग गरिएको थियो ।

सुशासन, पारदर्शिता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र लगायतका विभिन्न पक्षमा लामो समयदेखि क्रियाशील रही काम गर्दै आएको नागरिक संस्था फ्रीडम फोरमले सेप्टेम्बर महिनालाई सूचनाको हकको अन्तर्राष्ट्रिय महिनाको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : मंगलवार, २३ भाद्र २०७७ १३:४२
प्रतिक्रिया दिनुहोस्