दूधकोसी-२ को निर्माण फागुनदेखि, ५ वर्षमा विद्युत उत्पादन
उर्जाखबर/काठमाडौं । ७० मेगावाटको दूधकोसी–२ (जलेश्वर) अर्धजलाशय जलविद्युत आयोजनाको निर्माण आगामी फागुनदेखि सुरु हुने भएको छ । भारतीय लगानीमा दूधकोसी हाइड्रो पावर नेपाल कम्पनीले साेलुखुम्बुको दूधकोशी नदीमा आयोजनाको निर्माण गर्न लागेको हो ।
विद्युत विकास विभागबाट आयोजनाको उत्पादन अनुमति पाइसकेकाले वित्तीय व्यवस्थापनको टुंगो लागेपछि संरचना निर्माणको काम अघि बढ्ने कम्पनीका जनसम्पर्क अधिकृत जनकराज खनालले बताउनुभयो ।
उहाको अनुसार आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ । तयार भएको वातावरणीय अध्ययन प्रतिवेदन विभागबाट ऊर्जा मन्त्रालयमा जाँदैछ । ऊर्जाबाट वन मन्त्रालयमा पुगेर स्वीकृत हुन बाँकी छ । नेपाल विद्युत प्राधिकरणसँग ‘ड्राफ्ट’ विद्युत खरिद सम्झौता (पिपिए) मात्रै भएकाले पिपिए हुन बाँकी रहेको उहाले बताउनुभएको छ । ड्राफ्ट पिपिए विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि प्राधिकरणसँग पिपिए हुने पनि उहाले बताउनुभयो ।
भारतीय निजी क्षेत्रकाे लगानीमा निर्माण हुने आयोजनाका लागि अबको ४ महिनामा वित्तीय व्यवस्थापन सम्झौता गरिने कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न १४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।
आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । आयोजना निर्माण सुरु गरेको ५ वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाले वार्षिक ४३० गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ ।
आयोजना सुरुमा २ सय ३० मेगावाटमा निर्माण गर्ने गरी अध्ययन भएको थियो । तर, प्राधिकरणले निर्माण अगाडि बढाएको ८ सय मेगावाटको दूधकोसी जलाशयलाई असर पर्ने भन्दै क्षमता घटाएर ७० मेगावाटमा झारिएको छ ।