Logo

मन्त्री पुनको पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध


काठमाडौं–लामो समयदेखि अवरुद्ध सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ। उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आयोजना निर्माणको अवरोध हटेको हो।

स्थानीयबाट प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर काममा अवरोध हुँदै आएको थियो।
मन्त्री पुनले मंगलबार उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरी समस्या समाधान गरेका हुन्।

मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाए। मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए। त्यसमा जनतासँग सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तह र जनप्रतिनिधिले महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

सांसद राईले स्थानीयका समस्या करिब समाधान भएको बताए। ‘ऐलानीको मुआब्जा दिने गरी अवरोध हटाउने सहमति भएको छ’, सांसद राईले भने, ‘मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर जनताको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउने काममा लाग्छौं।’
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय« प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ घाघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्र«ो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ। प्रसारण लाइन जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमार्फत् ग्राहकका घरघरमा पु¥याउने पूर्वाधार हो।

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताए। उनका अनुसार कुल ३ सय २ वटा टावरमध्ये २ सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ।

कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने कामसमेत सकिएको छ । मरुवाबाहेक ४ अन्य वटा टावर निर्माणको काम जारी रहेको र दसैंअगावै सकिने आयोजनाले जनाएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको ठेक्का सम्झौता गरेको थियो। बिना अवरोध काम भएको भए २०७६ माघ दोश्रो साता प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको हुने थियो ।

nepallive

प्रकाशित मिति : बुधबार, २८ आश्विन २०७७ १२:०४
प्रतिक्रिया दिनुहोस्