Logo

सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन


काठमाडौं । साहस ऊर्जा कम्पनीले १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने १ अर्ब ५ करोड मूल्यको साधारण सेयरमध्ये ३५ करोड रुपैयाँ (३५ लाख कित्ता) सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण सबैका लागि ७० करोड रुपैयाँ मूल्यको ७० लाख कित्ता सेयर छुट्याइएको छ ।

साधारण सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको पनि उनले बताए । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ ।

कम्पनीले सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।  कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीकाे सेयर प्रत्याभूितकर्ता नागरिक लगानी काेष रहेकाे छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको ५७ प्रतिशत बढी पूरा भइसकेको छ । आयोजना सम्पन्न हुँदा ११ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक सेयर लगानी छ भने १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, २६ मंसिर २०७७ ०९:३७
प्रतिक्रिया दिनुहोस्