Logo

निर्मा राईको सफलताको कथाः जसले पर्यटन क्षेत्रमा पनि भविष्य छ भन्ने प्रमाणित गरिन् !


काठमाडौँ । ‘बिहेपछि घर सम्हाल्छौँ कि कुइरेलाई घुमाउँछौँ ?’ पर्यटन क्षेत्रमा उठबस सुरु गर्दैगर्दा ताकाका आफुमाथि सोझिएका प्रश्न सम्झिछिन् सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका काँकुमा जन्मिएकी निर्मा राई । त्यत्तिखेर उमेरले बल्ल २० टेकेकी निर्माले यस्ता थुप्रै प्रश्नहरुको सिधै उत्तर दिन सक्दनथिन् । बाहिर त केही भाव देखाउँदिनथिन् । तर, कच्चा मन कुँडिन्थ्यो । उनी आफैँ सम्हाल्थिन्। र, अगाडि बढ्थिन् ।

ट्रेकिङ गाइड बन्ने न निर्माको रहर थियो न त सपना । एक दिन गाइड बनेर हिमालतिर जान्छु भनेर सोचैकै थिइनन् । तर, जिन्दगी कल्पनाको गोरेटोमा मात्र कहाँ हिँड्छ र। परिस्थितिका बक्ररेखाले कता पु¥याउँछ, पु¥याउँछ । उनलाई पनि त्यही परिस्थितिले पर्यटन क्षेत्रमा पु¥याएको छ ।

केही काम पनि गर्छु अनि पढ्छु भनेर सोलुको चिसोबाट काठमाडौँ छिरेकी उनको उमेर जम्मा १८ वर्षको थियो । भर्खर एसएलसी पास गरेकी थिइन् । पढेर यही बन्छु भन्ने थिएन । तर, उनलाई पढ्न मन थियो ।

‘मेरो सपना भनेकै राम्रो काम गरेर आमा–बाबुलाई पाल्ने मात्रै थियो । तर, के हो राम्रो काम थाहा थिएन,’ उनी विगतलाई सम्झिन्छन् ।

तर, काठमाडौँ उनले सोचेजस्तो कहाँ रहेछ र । क्याम्पसभन्दा कामको खोजीमै उनको दिन बित्न थाल्यो । एसएलसी मात्र पास गरेको । कच्चा उमेर त्यहीमाथि हातमा कुनै सीप छैन ।

कतै काम पाइहाले कि अङ्ग्रेजी जानेको हुनुपथ्र्यो, कि कम्प्युटर । अब गाउँको विद्यालयमा पढेकी उनले कता अंगे्रजी फरर बोल्नु । कताको कम्युटर जान्नु । ‘मेरो गाउँको शिक्षाले मलाई सहरमा काम नदिने रहेछ भन्ने चाल पाए,’ उनले थपिन् ।

बल्लतल्ल उनले पस्मिनाको पसलमा काम पाइन् । पोते र मालाबाट झोला बुन्ने काम पनि गरिन् । त्यो बेला तलब मासिक १५ सय थियो उनको । काम सँगसँगै पद्मकन्या क्याम्पस बागबजारमा भर्ना पनि भइन् ।

दिनभरी काम, बिहान क्याम्पस । जति कमाई हुन्थ्यो, त्यसले खर्च नधानिने । क्याम्पसमा शुल्क बुझाउने कि कोठा भाडा मिलाउने ? खाने कसरी पो । १५ सय कमाइले मुस्किल पर्न थाल्यो उनलाई ।

एकातिर काम र कमाइको चिन्ता । त्यही कारण पढाई पनि त्यत्ति राम्ररी अगाडि बढाउन सकिरहेको थिएन ।

‘अंगे्रजीमा एकदम कमजोर थिएँ । अरू विषय पास भएपनि अंगे्रजीमा फेल भएँ,’ उनले भनिन्‘ त्यसपछि पढाइभन्दा काम राम्रो पाए हुन्थ्यो भन्ने लाग्यो।’

०००

सन् २००२ तिर उनीसँगै पस्मिनाको पसलमा काम गर्ने साथी सीता राई पनि राम्रो कामको खोजीमा थिइन् । दुवै कोठा भाडा पनि पुग्ने, खान पनि पुग्ने, काम खोज्दै भौँतारिइरहे ।

ठमेलका गल्लीमा भौँतारिइरहेका उनीहरूले गाउँकै एक जना दाइ भेटे । दाइ पोखरामा बसेर ट्रेकिङ गाइडको काम गर्दा रहेछन् । उनी एभरेस्ट ट्रेकको लागि जान काठमाडौँ आएका थिए । संयोग उनले एउटा पोर्टर (भरिया) खोज्दै रहेछन् । तर, पुरुष ।

‘हामी पनि केटा भएको भए त पोर्टरमा भए पनि जान्थ्यौँ,’ निर्मा र सीताले दाइलाई सुनाए । दाइले ट्रेकिङमा काम गर्ने इच्छा भए महिलाले पनि गर्न सक्ने बताए । महिलाहरूलाई प्रोत्साहन गर्ने राम्रो कम्पनी भएको सुनाए, ‘थ्री सिस्टर भन्ने एउटा कम्पनी छ । यो कम्पनीले महिलाहरूलाई ट्रेकिङ क्षेत्रमा काम गर्न प्रोत्साहन गर्छ । सिकाउँछ ।’

तर, सर्त थियो– पहिला तालिम लिनु पर्ने । माघमा तालिम खुल्छ भनेर ती दाइले सम्पर्क नम्बर दिएर गए ।

०००

सुरुमा निर्मालाई गाइड गर्न सकिएला जस्तो लागेको थिएन । उनले महिलाले गाइड गरेको देखेकी पनि थिइनन् । बरु ट्रेकिङमा जाने गाउँका ठूलाठूला दाइहरू, काकाहरूले महिलाहरूलाई ट्रेकिङमा नराम्रो भएका घटना पो सुनाउँथे ।

महिलाहरूले ट्रेकिङ गर्नु नराम्रो हो भन्थे। ट्रेकिङमा महिलाहरू यौन शोषणमा परेका घटना पनि सुनेकी थिइन् उनले । विदेशीहरूले महिलाहरूलाई यौन शोषण गर्छन् भन्थे ।

‘केटी मान्छेले ट्रेकिङ हिँड्नु नराम्रो हो। गर्नु हुँदैन,’ उनको दिमागमा पनि यही छाप थियो ।

सोलुबाट कहिलेकाहीँ काठमाडौँ आउँदा बाटोमा विदेशीहरूसँगै हिँडिरहेका नेपालीहरूको नराम्रो हर्कत पनि देखेकी थिइन् उनले । त्यतिखेर निर्माहरू सोलुबाट काठमाडौँ आउँदा जिरी हुँदै आउनुपर्थ्यो । बाटोमा विदेशीहरूसँगै हिँडिरहेका नेपालीहरू (ट्रेकिङ गाइड, किचेन स्टाफहरू, पोर्टरहरू) भेटिन्थे। उनीहरू अनेक थरी बोल्दै हिँड्ने। केटीहरू देख्यो कि झन् ठूलोठूलोे स्वरले जिस्काउन थाल्थे ।

‘मान्छेहरूले भनेजस्तै नराम्रो व्यवहार देखिन्थ्यो । मलाई पनि ट्रेकिङ गाइड साँच्चै फटाहा नै हुन्छन् जस्तो लाग्थ्यो,’ उनले भनिन् ।

तर, काठमाडौँमा बसेर काम पनि त थिएन। दाइसँग कुरा हुँदा पनि कम्पनीमार्फत काम गर्दा महिलालाई राम्रो हुने सुनाए ।

काम पनि ठिकै हुने । कमाइ पनि राम्रो । जे त होला भनेर निर्मा र उनकी साथी पोखरा जान तयार भए। तर, घरमा भनिनन् ।

माघमा पोखरामा तालिम खुलेको खबर आयो । साथीसँगै निर्मा तालिम लिन पोखरा गइन् । ४ हप्ताको आधारभूत तालिम हुने रहेछ । तालिममा आधारभूत अङ्ग्रेजी, भेष भूषा, रहनसहन, भौगोलिक, प्राकृतिक तथा राजनीतिक अवस्था सिकाइने रहेछ । त्यस्तै, पर्यटकसँग कसरी कुरा गर्ने भनेर सिकाइयो ।

तालिम सकियो। फागुन पनि लाग्यो । धमाधम पर्यटक आउने सिजन सुरु हुँदै थियो। उनीहरूले काम पनि पाइहाले। तालिममा सिकेका कुराहरूमा थप पोख्त हुन असिस्टेन्ट (सहयोगी)को काम गर्नु पर्ने रहेछ ।

‘असिस्टेन्ट भनिन्थ्यो। तर, भारी बोकेपछि पोर्टर नै हो नि। पोर्टरको काम गरियो। ट्रेनिङमा सिकेका कुराहरूलाई प्रयोग गर्ने । जतिसक्दो विदेशीहरूसँग बोल्दै हिँड्न थालियो,’ उनले भनिन् ।

काम सुरु गरिसकेपछि पनि उनले परिवारलाई भन्ने आँट गर्न सकेकी थिइनन् । उनलाई थाहा थियो के प्रतिक्रिया आउँछ भने । कसैले के गर्दैछेस् भनेर सोधे उनी ट्राभल्समा भनेर टार्थिन् ।

बिस्तारै गाइड बने राम्रो हुने रहेछ भन्ने लाग्यो उनलाई । जति छिटो पोख्त भयो त्यति नै छिट्टै गाइड बनिन्थ्यो। यसका लागि निर्माले मिहेनत सुरु गरिन् ।

पहिलो सर्त अङ्ग्रेजी राम्रो हुनै प¥यो । बाटोमा हिँड्दा विदेशीहरूसँग जतिसक्दो धेरै बोल्न कोसिस गरिन् । फिल्डसँगै घरमा पनि सिकेका कुराहरू बोल्न अभ्यास गरिरहिन् । मेहनत, लगाव र भित्रैबाट पलाएको इच्छाशक्तिले निर्माले छोटो अवधिमै आफूलाई पोर्टरबाट गाइड (पथ प्रदर्शक)का रूपमा स्थापित गरिन् ।

करिब तीन वर्ष पोर्टरको काम गरेपछि उनी राम्रोसँग अङ्ग्रेजी बोल्न सक्ने भइन् । पर्यटकहरूलाई नेपालका पर्यटकीय स्थल, त्यहाँको अवस्था, भेष भूषालगायत सबै कुरा बुझाउन सक्ने भइन् । त्यसपछि उनी गाइड बनिन् ।

०००

सुरुमा दुई/तीन जना पर्यटकहरूको सानो ग्रुप लिएर जान्थिन् । जतिसक्दो आफूले जानेका कुराहरू पर्यटकलाई भन्थिन् । सबै पर्यटकलाई राम्रोसँग गन्तव्यमा पुर्‍याएर फर्काउन प्रयास गरिरहिन् ।

हिमालतिर चढ्दा कतिपयलाई लेक लाग्छ । अझ पहिलो पटक हिमाली भेग पुगेकालाई लेक लाग्ने सम्भावना धेरै रहन्छ । साह्रै गाह्रो पर्‍यो भने बोकेर तल झानुपर्ने अवस्था पनि आउँछ । तर, निर्माले अहिलेसम्म त्यसरी पर्यटकहरूलार्ई बोकेर तल झार्नु पर्ने अवस्था आएको छैन ।

उनले त्यो समस्या आउन नदिन सक्ने जति प्रयास गर्छिन् । उनको प्रयासले अहिलेसम्म काम गरेको पनि छ ।

‘हिमालतिर जाँदा हरेक कुरामा ख्याल गर्दै हिँड्नु पर्ने हुन्छ। पहिलो पटक हिमाली भेग हिँडेका पर्यटकहरूलाई यसबारे जानकारी हुँदैन । ब्यालेन्स मिलाएर पानी खुवाउँदै, सुप खुवाउँदै बिस्तारै हिँडाउनुपर्छ । सुरुमै बुद्धि पु¥यायो भने बोकेर तल झार्नु पर्ने समस्या नै आउँदैन,’ निर्मा भन्छिन्, ‘तर, पुरुष गाइडले यसमा ख्यालै गर्दैनन्। र, धेरै समस्या आउँछ ।’

कतिपय पुरुष गाइडले बुद्धि नपु¥याउँदा पर्यटकहरूलाई आधा बाटोबाटै बोकेर ल्याउनु परेका थुप्रै घटना देखेकी छन् उनले ।

‘कतिपय पुरुष गाइडहरू बाटोमा भट्टी देख्यो कि छिरिहाल्छन् । पहिलो पटक हिमाल हिँडेका पर्यटकहरूलाई आफूसरह छिटो छिटो दौडाउँछन् । जसले गर्दा आधा बाटोबाट बोकेर ल्याउनु पर्ने हुन्छ,’ उनले भनिन्, ‘कतै घोडा तथा हेलिकप्टरबाट पनि उद्धार गर्नु पर्छ । बरु हामी महिला गाइडहरूले ध्यान दिएर पर्यटकहरूलाई राम्रोसँग गन्तव्यमा पुर्‍याउँछौँ ।’

एक पटक उनीसँगै अन्नपूर्ण राउन्डमा हिँडेका पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुपरेको बाहेक अन्य आपत् व्यहोरेकी छैनन् उनले ।

घटना अन्नपूर्ण राउन्ड जाँदाको रहेछ नोभेम्बर ताका । निकै चिसो मौसम। त्यति बेला ३ जना अस्ट्रेलियन नागरिकहरूलाई उनी अन्नपूर्ण राउन्ड लैजाँदै थिइन् । ७० वर्षभन्दा माथिका दुई वृद्धावस्था र उनीहरूकी छोरी गरी ३ जना थिए । गन्तव्यमा पुग्न ५ हजार ५ सय मिटर यात्रा गर्नु पर्ने थियो । तर, वृद्धलाई चिसो लाग्न थाल्यो ।

‘गाह्रो भयो म त अब हिँड्न सक्दिनँ । यहीँबाट फर्कन्छु,’ वृद्धले त्योभन्दा माथि चढ्न नसक्ने बताइन्। त्यसपछि निर्माले कम्पनीमा सम्पर्क गरिन् । र, हेलिकप्टर मगाइन् ।

‘बेस्सरी बिरामी भएर त होइन । गन्तव्यमा पुगेर फर्कन सक्दिनजस्तो सोच्नु भएछ । त्यसपछि दुई वृद्धवृद्धालाई पोखरा पठाएँ । उनीहरूकी छोरीलाई चाहिँ अन्नपूर्ण सर्किटको गन्तव्यसम्म नै पुर्‍याए ।’ उनले सम्झिइन् ।

०००

निर्मा आबद्ध कम्पनी महिलामैत्री थियो । पर्यटकहरू पनि महिला मात्रै अथवा महिला र पुरुष मिसिएको घुमाउँथिन् उनी । पुरुष पर्यटकहरूले महिला गाइड चाहिन्छ भने पनि पाउँदैन थिए । निर्माको काम गाउँमा हल्ला सुने जस्तो भएन । उनले पर्यटकहरूबाट यौन हिंसा र दुव्र्यवहारका घटना झेल्नु परेन ।

सुरुमा तालिम नलिई पोर्टरका रूपमा गएका महिलाहरू भने शोषित हुन्थे रे । कामको बहानामा धेरै नेपाली पुरुष गाइड र कुइरेले नै यौन शोषण गर्ने प्रवृत्ति हुन्थ्यो रे ।

‘त्यति खेर क्याम्पिङ चल्ने रहेछ। त्यसमा महिलाहरू असुरक्षित हुने सम्भावना धेरै हुने रहेछ । अहिलेचाहिँ धेरैजसो टी हाउस चल्छ,’ उनी भन्छिन्, ‘टी हाउस भनेकोचाहिँ होटेल अथवा गेस्ट हाउसतिर बस्ने त्यही खाने । त्यसो हुँदा पहिलेजस्तो समस्या पर्दैन ।’

क्याम्पिङ भनेकोचाहिँ टेन्ट (पाल), खानेकुराहरू, खाना पकाउने भाँडा, ओढ्ने, ओछ्याउने सबै बोकेर जानुपर्थ्यो रे । बस्ने ठाउँ पनि आफैँ खोज्ने र पाल टाँगेर रात कटाउने । यसो हुँदा त्यो समयमा महिलाहरू असुरक्षित हुँदा रहेछन् ।

तर, भर्खर ट्रेकिङ क्षेत्रमा लागेकाहरूलाई सुरुमा अप्ठ्यारो परेका थुप्रै घटनाहरू उनले सुनेकी थिइन् । नयाँ पोर्टर युवतीहरू सुतेको ठाउँमा राति ढोका ढकढक हुन्थ्यो रे । कति पुरुष गाइडहरूले नै नराम्रो नियतले जिस्काए पनि रे ।

‘कसैको त विदेशीसँग शारीरिक सम्बन्ध भयो रे भनेर त्यहीँ फिल्डमा हल्ला व्यापक चल्थ्यो । यस्तो कुरा पोर्टहरूले नै सुनाउँथेँ । तर, मलाईचाहिँ त्यस्तो थाहा छैन । फेरि मैले पहिलादेखि नै पुरुषहरूलाई मात्रै घुमाउनै परेन,’ निर्माले भनिन् ।

०००

समय बित्दै थियो । निर्मा आफ्नो काममा अगाडि बढ्दै गइन् । काम बुझ्दै गइन । अब ट्रेकिङ गाइडको काम गर्छु भनेर परिवारलाई सुनाउने हिम्मत बढ्दै थियो उनमा । सोही क्रममा महिला सशक्तीकरणले आयोजना गरेको क्लाइमिङ तथा बाल क्लाइमिङ कार्यक्रमसमेत आबद्ध हुन थालेकी थिइन् ।

सन् २०११ को पर्यटन वर्षमा निर्माले अन्नपूर्ण फोर हिमाल आरोहण पनि गरिन् । अन्नपूर्ण फोर चढ्ने पहिलो महिला निर्मासहित ४ जनाको समूह थियो । उनीसँगै उनका साथी मुना गुरुङ, शान्ति राई र सरस्वती विकले ७ हजार ५ सय २५ मिटर उचाइ भएको हिमालको सफल आरोहण गरेका थिए ।

उनीहरूको काम विभिन्न सञ्चारमाध्यममा आए । आफन्तहरूले पनि निर्मा ट्रेकिङ क्षेत्रमा आबद्ध छिन् भन्ने चाल पाए ।

‘म अब आफ्नो कामबारे सुनाउँछु भन्दै थिएँ । तिम्रो त राम्रो काम रहेछ भनेर आफन्तहरूले पो सुनाउन थाल्नुभयो । उहाँहरूले स्याबास दिनुभयो,’ निर्मा भन्छिन्, ‘त्यसपछि परिवारलाई भन्न एकदमै सजिलो भयो ।’

पछि त उनले आमा–बुबालाई पनि ट्रेकिङ गाइड गर्छु भनेर सुनाइन् । उनका बुबाले पनि कहिलेकाहीँ पोर्टरको काम गरेको हुँदा सजिलै बुझे । आमालाई बुझाउन भने थोरै गाह्रो प¥यो ।

‘पहिले हामी सानै हुँदा काठमाडौँ आएको बेला बुबाले ठुलीआमाका छोराहरूसँग पोर्टरकोरूपमा पनि काम गर्नुभएको रहेछ । त्यही भएर बुबा लाईचाहिँ प्रायः जसो थाहा हुन्थ्यो,’ उनले सुनाइन्, ‘तर, आमाले चाहिँ एकदम पीर मान्नुहुन्थ्यो । यो काम गाह्रो हुन्छ रे । माथि हिमालतिर हाइ लाग्छ । हिउँ पहिरोमा परेर कति मान्छे मर्छन् । छोड् भन्नुहुन्थ्यो । आमा अहिलेसम्म पनि त्यसै भन्छिन् । मर्ने त घरभित्रै बसेर पनि त मर्छन् नि ।’ निर्मा यसै भनेर आमालाई सम्झाउँछिन् ।

०००

निर्माले सन् २००५ देखि हो ट्रेकिङ गाइडको लाइसेन्स निकालेर व्यावसायिक यात्रा सुरु गरेको । १६ वर्षे व्यावसायिक यात्राका क्रममा थुप्रै तिता–मीठा अनुभव बटुलिन् । हिँड्दाहिँड्दै थुप्रै चुनौती पार गरिन्। महिलाले ट्रेकिङ गाइड गर्न सक्दैनन् भन्नेका लागि निर्मा आफैँले प्रमाण बनिन् ।

महिलाले ट्रेकिङ गाइडको काम गर्नु नराम्रो हो भन्ने मानसिकता पनि चिरियो ।

‘आफू पोख्त भएपछि कुनै पनि क्षेत्रमा नराम्रो हुन्छ जस्तो मलाई लाग्दैन। इच्छाशक्ति भएपछि जोसुकैले जुनसुकै काम पनि गर्न सक्छन् । महिला र पुरुष छुटाइरहनुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले आत्मविश्वासपूर्ण रूपमा भनिन् ।

उनको अनुभवमा एउटा कुशल पथप्रदर्शक बन्न इच्छाशक्ति भने हुनुपर्छ । खुला मन चाहिन्छ । धैर्यता त चाहियो नै। पर्यटकले कुन बेला के सोध्छन् पत्तो हुँदैन । त्यसैले इतिहास, राजनीति, समाज, धर्म संस्कृति, प्राकृतिक अवस्थाबारे जानकार भइरहनुपर्छ ।

‘पहिला–पहिला त नेपालको प्रकृतिमा मात्रै रम्न मात्रै आउनेहरू धेरै हुन्थे। उनीहरूलाई प्रकृति र भूगोलका बारेमा बुझाए पुग्थ्यो । तर, पछिल्लो समय विदेशीहरू नेपालमा रिसर्चका लागि पनि आउँछन् । पत्रकार, पाइलट, वकिल, इन्जिनियर, प्रहरी अफिसर, रिर्सचर, विद्यार्थीहरू पनि हुन्छन्,’ उनले भनिन्, ‘उनीहरूलाई हाम्रो देशको अवस्थाबारे स्पष्ट जानकारी दिन पोख्त हुनुपर्ने रहेछ ।’

उनी पहिले राजनीतिमा खासै चासो राख्दिनँ थिइन् । तर, पथप्रदर्शकको रूपमा काम गर्दागर्दै राजनीति पनि बुझ्नुपर्ने रहेछ भन्ने लागेपछि आजभोलि उनी राजनीति र देशको अवस्थाबारे चासो राख्छिन् । अध्ययन गर्छिन् । र, पर्यटकहरूलाई बुझाउँछिन् ।

०००

झन्डै दुई दशकदेखि यही क्षेत्रमा आबद्ध निर्माले सुरुमा दैनिक १५ डलरसम्म कमाइ गरिन् ।

फ्रिलान्सर भएर काम गर्दा दैनिक ३० डलरसम्म कमाइन् । कोही पर्यटकहरू मनकारी भेटिन्थे। उनीहरूले टिप्स पनि राम्रै दिन्थे । यही काम गरेर उनले परिवार धानिरहेकी छन् । आमाबुबा दुई बहिनी र आफू पाँच जनाको परिवारलाई आरामदायी जीवन दिएकी छन् ।

कान्छी बहिनीलाई उनैले पढाउँदै छिन् । आमाबुबा बिरामी हुँदा औषधि उपचारदेखि आवश्यक घर खर्चको चाँजोपाँजो उनैले मिलाउँछिन् ।

बाबु–आमालाई सुख दिन्छु भनेर काठमाडौँ छिरेको उनको लक्ष्य उही पेसाले पूरा गरिदियो । उनी सन्तुष्ट छिन् ।

०००

यात्रा त कहिले घमाइलो भयो । कहिले झरीले निथ्रुक्कै पनि बनायो । पथप्रदर्शकको दौरानमा कतिपय विदेशी पर्यटकहरू दिक्क लाग्दा पनि भेटिए । कोही रमाइला ।

कोही श्रीमान–श्रीमती बिछोड भएर मन बहलाउन आएका । कोही प्रेम सम्बन्ध टुटेर घुम्न आएका । त्यस्ताचाहिँ फरक मानसिकताका हुन्थे, रिसाइहाल्ने । डिप्रेसन भएका पनि थुप्रै हुन्थे ।

अप्ठ्यारा पर्यटक भेट्दा भने दिक्क लाग्थ्यो उनलाई तर, उनी रोकिइनन् ।

उनको अनुभवमा यो क्षेत्रमा हिँड्नभन्दा हिँडिरहन गाह्रो छ । जसरी टिक्नभन्दा टिकिरहन गाह्रो पर्छ । जिन्दगी पनि हिँडिरहनु पर्ने यात्रा त हो । अझ दौडिरहनुपर्ने दौडान । दौडानका क्रममा खुट्टा तान्नेहरू भेटिए पनि बेपर्बाह खुट्टा तन्काउने हिम्मत गर्ने मान्छे मात्रै सजिलै गन्तव्यमा पुग्न सक्छ ।

निर्मा खुट्टा तान्न खोज्नेहरूलाई बेपर्वाह छाडेर हिँड्न यात्री बनिन् । अझै बेपर्वाह हिँडिरहेकी छन् उही बाटोमा निरन्तर ।

निर्माले अझै बिर्सेकी छैनन्, जसले उनलाई प्रारम्भमै ‘बिहेपछि घर सम्हाल्छौँ कि ‘कुइरे’हरू घुमाउँछौँ’ भनेर तर्साउथे । तर, उनले ‘कुइरे’ घुमाइरहेकी नै छिन् निरन्तर…

(उकेराबाट साभार)

प्रकाशित मिति : सोमबार, ९ चैत्र २०७७ ०७:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ