Logo

सोताङ गाउँपालिकाको बिपक्षमा उच्च अदालत, शिक्षक बस्नेतको सरुवा बदर


सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाले गरेको शिक्षक सरुवालाई उच्च अदालतले बदर गरिदिएको छ । शिक्षक विद्यार्थी अनुपात मिलाउन भन्दै संघीय सरकारले जारी गरेको कार्यविधिका आधामा विभिन्न पालिकाहरुमा शिक्षक दरबन्दी मिलानको प्रकृया जारी रहेका बेला सोताङ् गाउँपालिकाले गरेको शिक्षक सरुवा अदालतले बदर गरिदिएको हो ।

सरुवा विरुद्ध शिक्षक सिताराम बस्नेतले दायर गरेको रीट माथि सुनुवाई गर्दै उच्च अदालत विराटनगर, अस्थायी ईजलास ओखलढुङ्गाले उक्त सरुवा बदर हुने फैसला गरेको हो ।

सोताङ् ४ गोम्दास्थित वासुकी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका बस्नेलाई गाउँपालिकाले गत मंसिर ३ गतेको निर्णयबाट सरुवा गरेको थियो । विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भन्दै पालिकाले बस्नेतलाई सोताङ्कै बरबोटे स्थित बरबोट आधारभूत विद्यालयमा सरुवा गरेको थियो ।

वासुकीमा ३७ जना विद्यार्थी र चार जना शिक्षक छन् भने बरबोटेमा झण्डै ९० विद्यार्थी र चारै जना शिक्षक छन् । उक्त सरुवा दरबदी मिलान तथा व्यवस्थापन कार्यविधि प्रतिकुल भएको भन्दै बस्नेतले गत माघ पाँच गते बदर गर्न दावी सहित रिट दायर गरेका थिए । मुद्दामा यस बिचमा चार पटक सुनुवाई भएको थियो ।

कार्यविधिमा सरुवा गर्दा कनिष्ट शिक्षकबाट शुरु गर्नु पर्ने व्यवस्था भए पनि आफूलाई प्रतिशोध साँध्न सरुवा गरेको बस्नेतको आरोप छ । २०५३ साल देखि शिक्षण गर्दै आएका बस्नेत २०६० सालमा स्थायी भएका हुन् ।

अहिलेको विद्यालय जान बस्नेतलाई घरबाट १५ मिनेट लाग्छ भने सरुवा गरिएको विद्यालय पुग्न कम्तिमा डेढ घण्टा लाग्छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले राजनीतिक आस्थाका आधारमा विभेद गरेको उनको आरोप छ । पालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । बस्नेत भने नेपाली काँग्रेस निकट मानिन्छन् ।

‘मैले राजनीतिक कृयाकलाप गरेर विद्यालयको शैक्षिक गतिविधि राम्रो गरिन भने प्रमाणसहित भन्नु पर्यो तर विना कारण सरुवा गरे पछि अन्याय भएको महशुस भएर म अदालत पुगेको हुँ’ बस्नेत भन्छन्, ‘सरुवा बदर भएको जानकारी प्राप्त भएको छ फैसलाको पूर्ण पाठ लिन म शुक्रबार ओखलढुङ्गा जान्छु, त्यस पछि मात्रै फैसलाको विस्तृत विवरण थाहा होला ।’

-Edukhsbar

प्रकाशित मिति : बुधबार, ८ बैशाख २०७८ २२:५०
प्रतिक्रिया दिनुहोस्