Logo

माओवादी केन्द्र सोलुखुम्बुको संगठित सदस्य १० हजार नाघ्यो, सबैभन्दा बढी थुलुङ दुधकोशी र दोस्रोमा माप्य दुधकोशी गाउँपालिका


  • अर्जुन खालिङ राई

सोलुखुम्बु: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको संगठित सदस्यहरुको संख्या १० हजार २ सय ९३ पुगेको छ ।
नेकपा विभाजनसँगै पूर्ववत अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संगठन निर्माणमा विशेष ध्यान दिँदै आएको छ । उसले सफ्टवेयर निर्माण गरि आफ्ना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री गर्न मंसिर ३ गते दिउँसो १२ बजेसम्म खुला गरेको थियो ।

माओवादीले गत असोजबाटै संगठित सदस्यहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दै आएको थियो । तर मंसिर ३ गते दिउँसो १२ बजेसम्मको डाटा विवरणअनुसार भने ७ हजार ८१ सदस्यहरुको मात्रै विवरण औपचारिक रुपमा डाटा इन्ट्री गर्न भ्याएको नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका पार्टी कार्यालय सचिव गणेश कुमार राई ‘वसन्त’ले जानकारी गराए । उनले बाँकी ३ हजार २ सय १२ जनाको विवरण अर्को पटकको नवीकरण अवधिमा थप सदस्यहरुको विवरणसँगै डाटा इन्ट्री गरिने पनि बताए ।

माओवादी केन्द्रले पार्टीलाई प्रविधिमैत्री पार्टीको रुपमा स्थापित गर्नका लागि आफ्ना संगठित सदस्यहरुको विवरण सफ्टवेयर निर्माण गरि डाटा इन्ट्री गरेको छ । डाटामा सदस्यहरुको विवरण राख्ने पार्टीमध्ये माओवादी केन्द्र पहिलो बनेको छ । उसले आफ्ना संगठित सदस्यहरुको विवरण डाटामा इन्ट्री गरे पनि उनिहरुको व्यक्तिगत विवरण पार्टी संगठनको कार्यमा प्रयोग गर्ने बाहेक कतै पनि दुरुपयोग हुन नदिने माओवादी केन्द्रले जनाएको छ ।

संगठित सदस्यको संख्या २ हजार १ सय ९५ पुर्‍याएर थुलुङ दुधकोशी गाउँपालिका सबैभन्दा धेरै संगठित सदस्य रहेको पालिका बनेको छ भने ९ सय चौध संगठित सदस्य पुर्‍रयाएर माप्य दुधकोशी गाउँपालिका संगठित सदस्यहरुको दोस्रो ठूलो संख्या रहेको गाउँपालिका बनेको छ ।

त्यसैगरि सोलुदुधकुण्ड नगरपालिकाबाट ८७३, महाकुलुङ गाउँपालिकाबाट ७८९, लिखुपिके गाउँपालिकाबाट ७७०, सोताङ गाउँपालिकाबाट ६०९, नेचासल्यान गाउँपालिकाबाट ५६६ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट ३६५ जना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री भएको नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारको क्रममा हाल टोल, वडा तथा पालिका सम्मेलनहरुको आयोजना गरिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, ३ मंसिर २०७८ २०:०२
प्रतिक्रिया दिनुहोस्