नवौं राष्ट्रिय खेलकुदका लागि सोलुका १७ खेलाडी छनौट
सोलुखुम्बु – आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बका १७ खेलाडी छनौट भएका छन् । असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने प्रतियोगितामा सहभागीताका लागि प्रदेश छनौट प्रतियोगीताबाट विभिन्न ९ विधाका १७ खेलाडी छनौट भएका हुन् ।
जुडोतर्फ स्वर्ण पदकसहित बन्दना राई, प्रितिमाया तामाङ र पेम्बा याङ्जी शेर्पा, रजत पदकसहित सोनाम छिरिङ शेर्पा र कास्यपदकसहित पेम्बा दोर्जी शेर्पा छनौट भएका छन् ।
पुरुष भलिबलतर्फ विष्णु बस्नेत र सन्जय बस्नेत, महिला भलिबलमा चाँदनी राई र झरना राई, एथलेटिक्समा मिङमार याङजी शेर्पा, ब्याडमिन्टनमा आशिष खनाल, आर्चरीमा अजय राई र प्रदिप राई, कबड्डीमा वीर बहादुर बस्नेत र सम्भु राई तथा फुल कन्ट्याकमा गौरव आर्चाय, रुपा मगर र पार्थ कोईराला छनौट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिए ।
प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागीताका लागि जिल्लाबाट १२ विधामा १९४ जना खेलाडीले सहभागीता जनाएका थिए ।
जिल्लाबाट भलिबलका महिला/पुरुष १२/१२ जना, चेस पुरुष २ जना र महिला ३ जना, फुटबल महिला/पुरुष १६/१६ जना खेलाडी कबड्डी खेलमा सहभागी थिए ।
यस्तै एथलेटिक्स महिला १० र पुरुष १२ जना, ब्याडमिन्टनमा पुरुष ४ र महिला ३ जना, जुडोमा पुरुष ५ र महिला ७ जना, आर्चरीमा पुरुष ८ र महिला ६ जना, तेक्वान्दो महिला/पुरुष १४/१४ जना र क्यूकोशियन कराँते पुरुष ७ जना र महिला ५ जना छनौट भएका थिए ।