रेडियो जनगणतन्त्रदेखि माननीयसम्म: कर्ज्याङ शेर्पा
तस्वीर: बीजे लुक्ला
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित हुनुभएका गोम्बु शेर्पा ‘कर्ज्याङ’ नेकपा (माओवादी केन्द्र)का सशक्त यूवा नेता हुनुहुन्छ । जिल्लाको सोताङ गाउँपालिकामा जन्मिनुभएका शेर्पाले २०५३ सालमा १६ वर्षको उमेरमा अनेरास्ववियुबाट राजनीति जीवन शुरूवात गर्नुभएको हो । आफ्नो विद्यार्थी राजनीतिको प्रारम्भसँगै उहाँले मावि इकाई सदस्य, इकाई उपाध्यक्ष हुँदै ईलाका समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि २०५८ सालमा उहाँले अखिल (क्रान्तिकारी), सानोठिमी क्याम्पस ईकाइ समिति सचिवको रुपमा जिम्मेवारी बहन गर्नुभयो ।
२०५८ सालकै भदौ महिनामा सानोठिमी क्याम्पस होस्टेलबाट गिरफ्तार भई चार दिन जिल्ला प्रशासन कार्यालय भक्तपुर हिरासतमा पर्नुभएका उहाँले राजनीतिक क्रियाशिलताकै क्रममा २०५९ सालमा १० महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुपर्यो । राजनीतिक थप सशक्त बनाउँदै लैजाने क्रममा उहाँले २०६० वैशाखमा अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला समिति सदस्य र नेकपा(माओवादी)को संगठित सदस्य हुँदै ईलाका समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
शेर्पालाई चिन्ने जोकसैले वास्तबिक सर्बहारा वर्गको नेता अर्थात् वास्तबिक माओवादी विचार, व्यक्तित्व र जिवन शैली उहाँमा देख्ने गरेका छन् ।
२०६० असोजमै आफ्नो जन्मभुमि सोलुखुम्बु जिल्ला आउनुभएका शेर्पा नेकपा (माओवादी)को सोलुखुम्बु जिल्ला समिति सदस्य एवं अखिल (क्रान्तिकारी), सोलुखुम्बु जिल्ला समिति उपाध्यक्ष हुनुभयो । २०६० मंसिरदेखि २०६२ सम्म नेकपा (माओवादी)द्वारा संचालित रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवा पार्टी जिल्ला सदस्य हुँदै जिल्ला सचिवालय सदस्यसमेत बन्नुभएको थियो ।
२०६२ सालमा पार्टीको सोलुखुम्बु (पिके आधार) जिल्ला सेक्रेटरी, २०६४ सालमा पार्टीको सोलुखुम्बु जिल्ला सह–ईन्चार्ज र २०६६ सालमा एकीकृत नेकपा (माओवादी)को किरात राज्य सचिवालय सदस्य बन्नुभएका शेर्पा २०६६ सालमै पार्टीको तर्फबाट शेर्पा स्वायत्त प्रदेश निर्माण आन्दोलन समन्वय समितिको संयोजक बन्नुभएको थियो ।
२०६८ सालमा पार्टीको सोलुखुम्बु जिल्ला ईन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका उहाँले २०७० मा पार्टीको तर्फबाट संविधानसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । उक्त निर्वाचनमा उहाँ पराजित हुनुभयो ।
२०७१ मा पार्टीको सोलुखुम्बु जिल्ला अध्यक्ष बन्नुभएका उहाँ २०७३ मा नेकपा (माओवादी केन्द्र) केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, २०७४ मा पार्टीको सोलुखुम्बु जिल्ला संयोजक, २०७६ मा तत्कालीन माओवादी केन्द्र र एमाले एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ नं प्रदेश कमिटी सदस्य एवं सोलुखुम्बु जिल्ला सचिव हुदै २०७८ मा नेकपाको सोलुखुम्बु जिल्ला अध्यक्ष बन्नुभयो ।
यसरी पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर पार्टी संगठन र जनसेवामा आफुलाई समर्पित शेर्पा निष्ठा, आदर्श र इमानको राजनीतिक गर्ने बैचारिक नेतृत्वका रुपमा परिचित हुनुहुन्छ । अझ भन्ने हो भने शेर्पालाई चिन्ने जोकसैले वास्तविक सर्बहारा वर्गको नेता अर्थात् वास्तबिक माओवादी विचार, व्यक्तित्व र जिवन शैली उहाँमा देख्ने गरेका छन् ।
यो निर्वाचनमा सिङ्गो शेर्पा समुदायको प्रतिनिधित्व गर्दै प्रत्यक्ष तर्फबाट निर्बाचित हुने उहाँ सम्भवत: एक मात्रै सांसद हुनुहुन्छ ।
प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यमा निर्वाचित हुनभएका गोम्बु शेर्पा (कज्र्याङ)लाई हार्दिक बधाई अनि यहाँको प्रतिनिधित्वबाट जनता र जनजिविकाका सवालमा प्रदेशसभा निक्कै गुन्जयमान हुने शुभेच्छासहित यहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।