माप्य दुधकोशीमा अघि बढ्यो ग्रामिण विद्युतीकरणको काम, आजैबाट प्राविधिक टोली खटिदै
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा ग्रामिण विद्युतीकरणको काम औपचारिक रुपमा अघि बढेको छ । सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा राष्ट्रिय प्रशारण लाईन जोड्नका लागि डिटेल सर्भे गर्ने प्राविधिक टोली गाउँपालिकाको वडामा पुगेका छन् ।
बुधबार गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई र उपलब्ध जनप्रतिनिधिहरुको बैठक बसेर सर्भेका लागि सम्बन्धित वडाका जनप्रतिनिधिहरुले सहजीकरण गर्ने निर्णय गरी काम अघि बढाइएको हो ।
सोलुखुम्बु जिल्लाबाट निर्वाचित तत्कालिन संघीय सांसद हेमकुमार राई ‘सुरबीर’द्धारा घोषित उज्यालो सोलुखुम्बु अभियानमार्फत ग्रामिण विद्युतीकरणको कार्यक्रम अघि बढेको थियो । सोका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर प्रकृया गते असोज १३ गते सकिएको थियो ।
१८ महिनाभित्र सिंगो जिल्लाको ग्रामिण विद्युतीकरणको काम सम्पन्न गर्नेगरी टेण्डर प्रक्रियालाई अन्तिम रुप दिइएको हुनाले माप्य दुधकोशी गाउँपालिकामा पनि अब चाँडै यो कामले पूर्णता पाउने विश्वास लिइएको छ ।
अध्यक्ष बुद्धिकिरण राईले माप्य दुधकोशी गाउँपालिकामा विद्युतको एकदमै समस्या भएकाले ग्रामिण विद्युतीकरणको कामलाई जतिसक्दो चाँडो सक्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै यस गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित पक्षलाई अनुरोधसमेत गर्नुभयो ।
२०७६ सालमा सोलुखुम्बु जिल्लामा विद्युत वितरण केन्द्र स्थापना गरिएको थियो । त्यसयता ग्रामीण विद्युतीकरण अन्तर्गत करोेडौंको काम सम्पन्न भएका छन् ।
सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रशारण लाईन जडान भएको छ भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया पनि अगाडि बढिसकेको बताइएको छ ।