Logo

थुलुङ दुधकोशी गाउँपालिकामा पर्वतीय पर्यटन प्रशिक्षण सूरु, सगरमाथा आरोही सम्मानित


सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकाको देउसामा तीन दिने पर्वतीय पर्यटन प्रशिक्षण सूरु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले आयोजना गरेको उक्त प्रशिक्षण गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले हिमाली क्षेत्रको पर्यटनमा काम गर्ने नेपालीहरुको योगदानको प्रशंसा गर्नुभयो । पर्यटन क्षेत्रको वृहतर विकासमा गाउँपालिकाले काम गरिरहेको बताउँदै उहाँले यस क्षेत्रको प्रवर्द्धनमा लाग्न सबैलाई आग्रहसमेत गर्नुभयो । विभिन्न क्षेत्रबाट राज्यलाई सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान गर्नु सह्रानीय कार्य रहेको भनाइ उहाँको छ ।

तालिममा वडा भित्रका ४५ जनाको सहभागीता रहेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले देउसाको माथिल्लो क्षेत्रका अधिकांश युवाहरु सगरमाथा क्षेत्रमा ट्रेकिङ जाने र विविध समस्याहरुमा पर्ने भएकाले तालिम आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा वडा नम्बर ७ स्थायी निवासी किताब सिं तामाङसहित चार जना सगरमाथा आरोहीलाई सम्मानित गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, १४ फाल्गुन २०८० १५:०४
प्रतिक्रिया दिनुहोस्