टाक्सिन्दु र जुभिङ जोड्ने मोटरेबल पुलको कामले पायो तीब्रता, बैशाखसम्म सक्ने तयारी

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिका जोड्ने मोटरेबल पुलको निर्माण कार्यले तीब्रता पाएको छ । नगरपालिकाको वडा नं १ टाक्सिन्दु र गाउँपालिकाको वडा नं १ जुभिङको बीच हुँदै बग्ने दुधकोशी नदीमा सो मोटरेबल पुल निर्माण हुँदै गरेको हो ।
सडक डिभिजन कार्यालय, हर्कपुरमार्फत विनियोजन बजेटबाट निर्माणाधीन मोटरेबल पुलको गत वर्ष सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गर्नुभएको थियो ।
सगरमाथा पर्यटन सडक खण्ड अन्तर्गत पर्ने सो पुल आगामी वैशाख मसान्तसम्म सम्पन्न हुने काम अघि बढाइएको मेयर शेर्पाले जानकारी दिनुभएको छ ।
‘मोटरेबल पुलको निर्माण कार्य अत्यन्तै द्रुतगतिमा अगाडी बढिरहेको छ’, मेयर शेर्पाले फेसबुक स्ट्याटसमार्फत लेख्नुभएको छ ‘यही वैशाख महिना भित्र पुलको निर्माण कार्य सम्पन्न हुने गरी हामी लागि परेको छौँ । पुल निर्माण सम्पन्न सँगै खुम्बु क्षेत्रको यातायात सहज हुनेछ ।’
५५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको यो मोटरेबल पुल महादेव खिम्ती हिराचन जेभीले २०७५ सालमै ७ करोड ६ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको थियो ।
यो सगरमाथा क्षेत्र (खुम्बु)लाई सिधा जोड्ने अर्को सडक खण्ड हो । यसअघि ओर्लाङघाटमा माप्य खुम्बु मितेरी मोटरेबल पुल निर्माण भई सञ्चालनमा आइसकेको छ ।