भोक खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन, माप्य र खुम्बुका नागरिकसँगै पर्यटक लाभान्वित
सोलुखुम्बु, २७ फाल्गुन २०८० । माप्य दुधकोशी गाउँपालिकाले अर्को मोटरेवल पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । वडा नं २ को भोक खोलामा निर्मित मोटरेबल पुलको आइतबार औपचारिक उदघाटन गरिएसँगै पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद मानबीर राई, कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पा, नेचासल्यान गाउँपालिकाका पूर्ब अध्यक्ष डुफ कुमार बास्तोला र गाउँपालिका उपाध्यक्ष गौरव राईले आइतबार रिवन काटेर सो मोटरेवल पुलको उदघाटन गरेका थिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र (खुम्बु क्षेत्र) लाई सिधा जोड्ने सडक खण्डअन्तर्गत पर्ने भएकाले पनि यो मोटरेबल पुल निर्माण सम्पन्न गर्नु हरेक हिसाबले निक्कै महत्वको रहेको छ ।
स्मरण रहोस्, गाउँपालिकाले आफ्नो गौरबको आयोजनाभित्र राखेर यसअघि नै सोही सडक खण्डको दुधकोशी नदीको ओर्लाङघाटमा र वडा नं. ६ र ७ लाई जोड्ने दिप्लीघाटमा मोटरेबल पुल निर्माण गरिसकेको छ ।
ओर्लाङघाटमा मोटरेबल पुल बनेपनि भोक खोलामा मोटरेबल पुल नहुँदा विशेषगरी वर्षा याममा सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द हुँदै आएको थियो । तसर्थ, भोकखोला र ओर्लाङघाटमा निर्मित मोटरेबल पुल दूरीका हिसाबले नजिकै भएपनि पानीको वहाब ठूलो भएकाले अनिवार्य आवश्यकता थियो ।
भोक खोलामा मोटरेबल पुल नहुँदा जेठदेखि कार्तिकसम्मका पाँच महिना सवारीसाधन प्रत्यक्ष सञ्चालनमा समस्या हुँदै आएको थियो । भोक खोलाको पुल सञ्चालन भएसँगै माप्य दुधकोशीका २ र सिंगो खुम्बु पासाङल्हामु गाउँपालिका (सगरमाथा क्षेत्र)का नागरिक त प्रत्यक्ष लाभान्वित हुने नै छन् सँगै यस क्षेत्र भ्रमण गर्न आउँने स्वदेशी तथा विदेशी पर्यटकका लागि पनि सहज आवतजावत हुनेछ ।
उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले निर्माण सम्पन्न भई सञ्चालनमा आएको भोकखोलाको मोटरेबल पुल माप्य र खुम्बुको तत्कालिन एव दीर्घकालिन विकास र समृद्धिका लागि कोसेढुंगा भएको बताए ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद मानबीर राई, पूर्ब प्रदेशमन्त्री एबम् प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिंमार छिरी शेर्पा र प्रबक्ता लाक्पाछिरी, नेचासल्यान गाउँपालिकाका पूर्ब अध्यक्ष डुफ कुमार बास्तोला, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राई र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवलगायतले आफ्नो धारणा राखेका थिए ।
माप्य दुधकोशी गाउँपालिकाद्धारा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बजेटमा विनियोजित करिब पौने तीन करोड कुल लागतमा निर्माण सम्पन्न भएको सो पुलको लम्बाई १८ मिटर र चौडाई ३.१५ मिटर रहेको छ ।