सोलुदुधकुण्ड नगरपालिका प्रमुख शेर्पाद्वारा फाप्लु- खोलाघारी-बेनी सडक स्तरोन्नतिको शिलान्यास
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको फाप्लु- खोलाघारी-बेनी सडक खण्डको स्तरोन्नतिको शिलान्यास गरिएको छ । सोको शिलान्यास गर्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले सो सडक खण्डको स्तरोन्नतिको काम पनि बजेट र स्टिमेट अनुसारको गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
नगर क्षेत्रभित्र विकासका काममा अनुगमन र गुणस्तर परिक्षणलाई प्राथमिकता दिने गरिएको भन्दै नगर प्रमुख शेर्पाले विकासका काममा नगरपालिकाले गुणस्तरमा सम्झौता नगर्ने बताउनुभयो ।
सघन सहरी तथा भवन आयोजना ओखलढुंगाको ८ करोड ५४ लाख ११ हजार १ सय ८७ रुपैयाँ लागतमा स्तारोन्नती हुने सडकको निर्माण कम्पनी देवीथान/सम्सेर जेभिले निर्माणको जिम्मा लिएको छ ।आगामी वर्षको असोज मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग गत जेठ ३१ गते सम्झौता सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङ,नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा,वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ् ठिले शेर्पा,सम्सेर निर्माण सेवाका सम्शेर कार्कीले आ-आफ्नो धारणा राख्नुभएको शिलान्यास कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जीनियङ धर्मेन्द्र पासवानलेबजेटले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा ७ सय मिटर सडक ढलान हुने र फाप्लुबाट खोला घारी हुँदै सो सडक खण्डका विभिन्न स्थानमा स्तरोन्नतिका कामहरु हुने बताउनुभयो । पासवानका अनुसार उक्त बजेटमा कुल २ दशमलव ४ किमी सडक स्तरोन्नतिको काम हुने छ ।
बक्ताहरुले नगरप्रमुख शेर्पाको लामो प्रयासपछि पूर्व सहरी विकास मन्त्री सिता गुरुङको पहलमा बजेट बिनियोजन भएका कारण सडक स्तरोन्नतिको कामले गति लिएको चर्चा गर्नुभएको थियो।
शिलान्यास कार्यक्रममा नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, वडाका जनप्रतिनिधी तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।