पर्यटन व्यवसायी अम्गाई लेख्छन् ‘सिंहदरबार नेपालीले नै पुन:निर्माण गरौं, मेरो तर्फबाट १ लाख’, धेरैको समर्थन र सहयोगको प्रतिबद्धता
 
        काठमाडौं, भदौं ३० । ध्वस्त भएको सिंहदरबार नेपालीले नै पुनःनिर्माण गर्नुपर्ने भन्दै यूवा पर्यटन व्यवसायी नवराज अम्गाईले राष्ट्रिय अभियानको घोषणा गरेका छन् । सोमबार बेलुकी फेसबुकमा सिंहदरबारको दनदनी बलिरहेको तस्वीर सार्वजनिक गर्दै उनले यसको पुनःनिर्माण कोष बनाउनुपर्ने र जसका लागि आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेका छन् ।
उनले प्रधानमन्त्री सुशिला कार्कीलाई सिंहदरबार पुननिर्माण कोष स्थापना गर्न आग्रह गरेका छन् । “सिंहदरबार नेपालीले नै पुनःनिर्मण गरौं” ठमेलका व्यवसायी अम्गाईले फेसबुक स्टेटसमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूले पुननिर्माण कोष स्थापना गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग निश्चित छ ।”
सबैले आवाज उठाऔं, जुटेर सहयोग गरौं भन्ने आह्वानसमेत अम्गाईले गरेका छन् ।
अम्गाईको यो अभियानमूलक सन्देशलाई समर्थन गर्दै सयौंले लाइक र कमेन्ट गरिरहेका छन् । कमेन्ट गर्ने अधिकांशले यो अभियानलाई सार्थक तुल्याउन लाग्नुपर्ने भन्दै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको देखिन्छ । यो पोष्टलाई आफ्नो प्रोफाइलमा धेरैले शेयर पनि गरिरहेका छन् ।
गोरखाका अम्गाई व्यावसायिक सफलतासँगै समाजसेवामा पनि तल्लिन व्यक्तित्व हुन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनलगायतको माग राखेर जेन्जी पुस्ताले छेडेको आन्दोलनको आधिवेहरीले ल्याएको परिवर्तन र भर्खरै बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागि मन्त्री मण्डलको पदबहालीसँगै कार्यप्रारम्भ जुन हिसाबले भएको छ, त्यसले निश्चय पनि केही सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । त्यसैको एक अंशको रुपमा एक सच्चा नेपाली नागरिकको हिसाबले अम्गाईले सुरुवात गरेको यो अभियानले ढिलोचाँडो ठोस आकार लिने धेरैको विश्वास छ ।
प्रतिनिधिमूलक हिसाबले यो पोष्टमा लेखिएको कमेन्टहरु यसप्रकार छन्ः
अम्गाईको पोष्टमा कमेन्ट गर्दै प्रकाश चन्द्र देवकोटाले लेखका छन् ‘सिंहदरबार हाम्रो पहिचान हो, हामी नेपालीको जिम्मेवारी हो यसलाई पुनःनिर्माण गरौं ।’
निलेश अम्गाई थप्छन् – ‘सरकारमात्र होइन, नागरिक पनि साथमा सिंहदरबार पुनःनिर्माणमा हातेमालो गरौं ।’
थिरराज निरौंला – ‘गुड जब भन्दै म पनि ५ देखि १० हजारसम्म डोनेशन दिन तयार छु ।’
हरि खनालले कमेन्टमा लेखेका छन् – ‘म १५ दिन श्रमदान गर्न तयार छु ।’
विष्णु प्रसाद देवकोटा लेख्छन् – ‘सिंहदरबार हाम्रो राष्टिय गौरब हो, यसलाई संरक्षणमा तपाईको योगदान अमूल्य छ । तपाईले देखाउनुभएको यो उदारताले अरुलाई पनि यस्तै कार्य गर्न प्रेरित गर्नेछ । तपाईको यो सहयोगले सिंहदरबारलाई फेरी एक पटक जीवन्त बनाउने हाम्रो सपना साकार हुनेछ ।’
चन्डिका पाण्डेले भनेका छन्,– ‘म पनि सहयोग गर्छु, तपाईहरु पनि आफ्नो सीप र क्षमताअनुसार सहयोग गर्नुहोस् । हाम्रा साना साना योगदानले ठूलो काम सम्पन्न हुन्छ । आउनुहोस्, सिंहदरबार पुनर्निर्माण गरौं र त्यसलाई केन्द्रीय रुपमा विकास गारौं । यो देशकै मुख्यालय भएकोले यसलाई आधुनिक र वैज्ञानिक तरिकाले पुनःनिर्माण गर्नु आवश्यक छ ।’
अमृत गोर्खाली – ‘सरकारले यस्तै गर्ने हो भने जनताको तर्फबाट पुनःनिर्माण गर्न सकिन्छ । सबै मिलेर अगाडि बढ्नुपर्छ र म सहयोग गर्न तयार छु गर्छु भन्नु हजुको यो महान उद्देश्य र राष्ट्रप्रतिको माया आफ्नो कर्तव्य ठान्नु नै असली नागरिक हो । हजुरबाट धेरै सहयोग हरेक ठाउँमा भएको छ । हामी सबै मिल्ने हो भने समय लाग्दैन र बन्छ नि । मेरो योग्यताले सक्ने सहयोग गर्नेछु । यो हजुरको विशाल सोचलाई उच्च सम्मान र कदर गर्दछु । धन्यवाद र आभारी छु हजुरको यो फराकिलो महान भावना र हृदयलाई ।’
रमेश श्रेष्ठ – ‘एकदम सही विचार दाई, हाम्रो सिंहदरबार हामी नै बनाऔं ।’ 
 

 
                