Logo

एचआइडिसिएले १.३२ अर्ब नगद लाभांश बाँड्दै, ११ अर्बको हकप्रद सेयर निष्कासनको तयारी


काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले चुक्ता पुँजीको १२ प्रतिशत अर्थत् १ अर्ब ३२ करोड रुपैयाँ नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट उक्त लार्भाश दिने निर्णय भएको हो ।

सञ्चालक समितिको प्रस्तावअनुसार उक्त लाभांश कम्पनीको सोमबार सम्पन्न ८औं वार्षिक साधारणसभाले पारित गरेको छ । कम्पनीले गत आवमा १० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । बोनस सेयरपछि हुने पुँजीको शतप्रतिशत बराबरको ११ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने तयारी भइरहेको जनाइएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीमध्ये सरकारबाट ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भएको र कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान तथा कर्मचारी सञ्चय कोष हकप्रद सेयर प्राप्त हुन बाँकी छ । सर्वसाधारणका लागि भने सूचना निकालेर हकप्रद माग गरिने जनाइएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ५९.३ प्रतिशतले ऋण प्रवाह बृद्धि गरी थप १ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, हालसम्म कम्पनीले १३ करोड ६८ लाख रुपैयाँबराबरको सेयर लगानी गरेको छ ।

समीक्षा अवधिको कूल आम्दानीमा अघिल्लो वर्षको तुलनामा गत आवमा ३२.८ प्रतिशत बृद्धि भएको छ । सोही अवधिको खुद मुनाफा ३५.६ प्रतिशतले बढेर गत आवमा १ अर्ब १० करोड रुपैयाँ आर्जन भएको थियो । गत आजमा प्रतिसेयर आम्दानी ९.९६ रुपैयाँ रहेको पनि जनाइएको छ । कम्पनीले हालसम्म ४ सय ४० मेगावाट क्षमताका १२ जलविद्युत आयोजनामा ६ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता जनाएको लगानी मध्ये २ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यसैगरी, कम्पनीले जलविद्युतसँग सम्बन्धित ४ कम्पनीमा ९२ करोड ६० लाख रुपैयाँ स्वपुँजी लगानीको बाचा गरेकोमा ३४ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सहायक कम्पनी (रेमिट हाइड्रो लिमिटेड) स्थापना गरी ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा खोला निर्माण अघि बढाइएको छ । यस्तै, ४ सय २६ मेगावाटको फुकोट कर्णालीमा स्वपुँजीको १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । कम्पनीले गत आवमा ५७.५ मेगावाटको नुप्चे–लिखुमा ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले स्वपुँजी लगानी गरेको यो निजी क्षेत्रको पहिलो आयोजना हो । उता चीनको पावर चाइनासँगको सहकार्यमा ७ सय ५६ मेगावाटको तमोर र १ सय ५६ मेगावाटको माडी जलाशय निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ०८:२४

Archives

प्रतिक्रिया दिनुहोस्