Logo

गोक्योमा हुने मैत्रिपूर्ण आइस हक्की र आइस स्केटिङको तयारी यस्तो छ


नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सोलुखुम्बुको गोक्यो क्षेत्रमा मैत्रिपूर्ण आइस हक्की र आइस स्केटिङ गर्ने भएको छ ।

पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तब्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार, सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो) मा आगामी फ्रेबुअरी १४ का दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मैन्त्रीपूर्ण खेलमा अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरुको सहभागिता रहनेछ ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्टिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार यो खेल आयोजना गरेको हो ।

गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४७९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो ।

सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहेको छ ।

नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : शनिबार, २५ माघ २०७६ ०८:२६

Archives

प्रतिक्रिया दिनुहोस्