Logo

पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक


पर्यटन व्यवसाय सञ्चालन गर्दा सेवासँगै स्वास्थ्य सुरक्षा सजकता कसरी अपनाउने र नेपालको पर्यटन सेवासँगै सुरक्षाको हिसाबले पनि अगाडि छ भन्ने सन्देश विश्व पर्यटन बजारमा फैलाउन कार्यविधि बनाइएको हो । खासगरी होटल, रेस्टुराँ, पदयात्रा, जलयात्रालगायत गतिविधिमा जाने पर्यटकले के कस्ता सुरक्षा सजकता अपाउनुपर्छ र सेवाप्रदायकले पनि कस्ता मापदण्ड बनाउनुपर्छ भन्ने कुरालाई सञ्चालन कार्यविधिमा समेटिएको छ ।

यस कार्यविधिको ‘जुम एप’भर्चुअल बैठकमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्दै कोभिडपछिको पर्यटनलाई चलायमान बनाउनुपर्ने अवस्थामा सेवा र सुरक्षालाई मजबुद तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको परिस्थितिमा पर्यटन उद्योगलाई गतिशील बनाउन आवश्यक तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिडपछिको पर्यटन व्यवसायलाई सुरक्षित बनाएर सेवा सञ्चालन गर्नका लागि कार्यविधिले सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालको पर्यटन सुरक्षितसँगै सेवा दिन पनि तयार रहेको सन्देश विश्वभर प्रवाह गर्नका लागि कार्यविधि जारी गरिएको उल्लेख गर्नुभयो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि र सँगसँगै पर्यटन व्यवसायलाई अघि बढाउन कार्यविधि ल्याइएको बताउनुभयो । उहाँले अबको दिनमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन अपनाउनुपर्ने मापदण्ड पर्यटनसँग सम्बन्धित कार्यविधिले समेटेको र यसले पर्यटन व्यवसायलाई सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डका कार्यकारी सदस्य दीपक महतले पर्यटकीय सेवासँगै सुरक्षालाई पनि ध्यान दिएर अघि बढ्नुपर्ने अवस्थामा बोर्डले झण्डै तीन महिनाको अवधिमा सरोकारवालासँग छलफल गरेर कार्यविधि ल्याएको बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले संवेदनशील अवस्थामा गुज्रिरहेको पर्यटनलाई गतिशील बनाएर अर्थतन्त्रलाई बलियो बनाएर जानुको विकल्प नभएको धारणा राख्नुभयो ।

प्रकाशित मिति : मंगलवार, ९ असार २०७७ १४:१८
प्रतिक्रिया दिनुहोस्