Logo

दुधकोशी २ (जलेश्वर) जलविद्युतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआइए)सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त आयोजनाको प्रवद्र्धक कम्पनी दुधकोशी हाईड्रोपावर प्रा.लि.ले सोमबार बर्खुघाटमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

सुरुमा २३० मेगावट क्षमताको उक्त आयोजना दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट)का कारण ७० मेगावाटमा झारिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक जनक खनालकाअनुसार २३० मेगावाट जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन सन् २०१५ मै स्विकृत भएपनि क्षमता परिर्वतन भएका कारण पुरक प्रभाव मुल्यांकन गर्नुपरेको हो ।

साढे १४ अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको प्रभावित क्षेत्र थुलुङ दुधकोशी गाउँपालिका मात्र पर्दछ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा र वडा नं ५ जुबुको सिमानामा बाँध निर्माण हुने आयोजनाको विद्युत गृह वडा नं ४ जुबु क्षेत्रमा निर्माण गरिने छ । आयोजनाको ३.४ कि.मि. सुरुङ खनिने छ । वडा नं ४, ५ र ७ लाई अति प्रभावितको सूचीमा राखिएको छ । काम शुरु भएको ५ बर्षमा निर्माण सम्पन्न गर्ने राखिएको आयोजनाले वार्षिक ४३० गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ ।

आयोजना क्षेत्रमा ११ प्रकारका रुखहरु (साल, चिलाउने, सल्लो, अमला, पिपल, मौवा, लाम्पाते, कुट्मेरो, मलेतो आदी), १५९ प्रकारका पुष्पहरु, २५ प्रकारका झाँडीहरु, ५६ प्रकारका जडिबुटीहरु पाइन्छ । दुधकोशी नदिमा ६ प्रकारका माछा (असला, कत्ले, काप्रे, तिते आदी) पाईन्छ । ति माछाको संरक्षणका लागि पनि आवश्यक काम गरिने वातावरणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।

वातावरण विद् सलिल देवकोटाले पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन मस्यौदा प्रस्तुत गरेपछि कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुले वडा नं ६ मुक्ली र वडा नं ८ देउसालाई अति प्रभावित क्षेत्रमा राख्नुपर्ने, लगानीको सुनिश्चित गर्नुपर्ने, सुरुङ खन्दा अपनाउनुपर्ने सावधानी तथा सम्भावित क्षतिलाई ध्यानदिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले यो आयोजनालाई स्थानीय सरकारले विशेष चासोका साथ हेरेको बताउँदै आयोजना सफल पार्नकालागि आफ्नो तर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा स्थानीय सरकारसँग समन्वय गरेर गर्न सामाजिक उत्तरदायित्ववापतको रकम खर्च गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिदै उनले स्थानीय जनतालाई अधिकारलाई ध्यानमा राख्न सुझाव दिए ।

कम्पनीका प्रबन्ध निर्देशक जनक खनालले स्थानीय जनता र सरोकारवालाको सुझावलाई समावेश गरी प्रतिवेदनलाई पुर्णता दिने र प्रभावित नागरिकलाई सजिलो हुनेगरी आयोजना निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : मंगलवार, २० फाल्गुन २०७६ १७:३१

Archives

प्रतिक्रिया दिनुहोस्