Logo

कोरोनालाई तेस्रो विश्वयूद्धको संज्ञा दिदैं मन्त्री गुरुङले भने ‘सुतेर नबस्नुस्, केही सिर्जनात्मक उद्यम गर्नुस्’


काठमाडौं, २९ फागुन । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरससँग जुध्नका लागि सिर्जनात्मक उद्यमशिलता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए)द्धारा विहिबार काठमाडौंमा आयोजना गरेको पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरुको सर्टिफिकेट वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले कोरोना भाइरसलाई तेस्रो विश्व युद्धको संज्ञा दिदै त्यसलाई जित्न आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले अहिलेको यो अवस्थामा हल्ला सुनेर सुतेर बस्नुभन्दा केही न केही सिर्जनात्मक उद्यमतर्फ अग्रसर हुन अनुरोधसमेत गर्नुभयो।

हिमाल बचाउन सबै लाग्नुपर्नेमा जोड दिदै पर्वतारोहण तालिमहरुको करिकुलम बैकल्पिक शिपसहितको हुनुपर्ने उहाँले बताउनुभयो । ‘जसबाट विभिन्न संकट आइपर्दापनि बैकल्पिक उद्यम गर्न सक्ने वातावरण बनोस् । खाली माउन्टेन गाईडले गाईडिङ मात्रै गर्ने, सरदारले सरदारको मात्रै काम गर्ने नभई त्यो काम नहुँदा अरु त्यसैसँग सम्बन्धित काम गर्ने सक्नेखालको तालिम करिकुलम होस् भन्ने म चाहान्छु’ उहाँले भन्नुभयो।

पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख मिरा आचार्यले यो वर्षको पर्वतारोहण गतिविधिलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने बारे विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो । कोरोना भाईरसको आतंकको बीचमा विदेशी पर्यटकलाई कसरी नेपालमा आकर्षित गर्ने तथा नेपाल घुम्न आउने पर्यटकले के के फलोअप गर्ने भन्ने कुरा केही दिनभित्रै सार्वजनिक गर्नेगरी तयारी भइरहेको बताउँदै त्यसलाई सम्बन्धित सबैले आआफ्नो ठाउँबाट कार्यान्वयन गरेर कारोनाबाट उत्पन्न समस्याको सामना गर्नुपर्ने बताउनुभयो ।
उहाँले माउन्टेन गाईडलाई सरकारले आधिकारिक परिचयपत्र दिने तयारी गरिरहेको जानकारी पनि दिनुभयो । अहिले उत्पन्न समस्याको समाधानका लागि सबै पक्षले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

हिमाल आरोहण गराउने कामदारको कम्तिमा बेसिक कोर्ष गरेको सर्टि्फिकेट अनिवार्य गर्नुपर्छ । हिमाली क्षेत्रमा काम गर्ने इन्सुरेन्स रकम बढाउनुपर्छ । अहिले ज्ञछ लाख छ नेपाली कामदारको हकमा । थप पीक व्यवस्थापन बढाउनुपर्छ।

सो कार्यक्रममा विभिन्न चार वटा विद्याको पर्वतारोहण तालिम लिएका प्रशिक्षार्थीहरुलाई सर्टिफिकेट वितरण गरियो । जसमध्ये गत ६ डिसेम्बर २०१९ देखि २२ जनवरी २०२० सम्म काठमाडौं र लाङटाङमा सञ्चालित २८औं एडभान्स माउन्टेनरिङ कोर्षमा सहभागि २६ जना प्रशिक्षार्थीहरुलाई सर्टिफिकेट प्रदान गरियो ।
त्यस्तै सर्टिफिकेट पाउनेमा ३१ डिसेम्बर २०१९ देखि १९ जनवरी २०२० सम्म काठमाडौं र लाङटाङमा सञ्चालित हाई माउन्टेन रेस्क्यू ट्रेनिङ (एचएमआरटी)मा १५ जना प्रशिक्षार्थी रहेका छन् ।

त्यसैगरी ९ देखि २१ जनवरी २०२० मा काठमाडौं र सोलुखुम्बुको पिके पीकमा सञ्चालित माउन्टेन लिडर कोर्ष (कम्पोनेन्ट २)मा सहभागि १३ जना प्रशिक्षार्थी तथा २० जनवरी देखि ९ फेबु्रअरी २०२० मा काठमाडौं र सोलुखुम्बुको पिके पीकमा सञ्चालित माउन्टेन लिडर कोर्ष (कम्पोनेन्ट–३) तालिममा सहभागि ११ जना प्रशिक्षार्थीहरुलाई सर्टिफिकेट प्रदान गरिएको हो ।

यसैबीच, नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतारोहण तालिमलाई थप प्रभावकारी बनाउनका लागि नेपाल माउन्टेन इन्स्टक्टर एसोसिएसन (एनएमआईए)सँग सम्झौता गरेको छ ।सम्झौतापत्रमा एनएमएका कार्यवहाक महासचिव टिकाराम गुरुङ र एनएमआइएको तर्फबाट महासचिव छिरिङ भोटेले हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै एनएमएले दोलखाको रोलवालिङ क्षेत्रको हिमाल आरोहण व्यवस्थापन तथा प्रवद्र्धनका लागि माउन्टेन एभरेष्ट समिटर्स क्लब रोलवालिङसँग पनि सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा एनएमएको तर्फबाट अध्यक्ष सन्तबीर लामा र क्लबका अध्यक्ष दावाछिरी शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : बिहीबार, २९ फाल्गुन २०७६ १६:४३

Archives

प्रतिक्रिया दिनुहोस्