Logo

दूधकोसी–२ (जलेश्वर) आयोजनाको प्रसारण सम्झौता


काठमाडौं । सोलुखुम्बुमा निर्माण हुने ७० मेगावाटको दूधकोसी–२ (जलेश्वर) जलविद्युत् आयोजनाको प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार (असार २ गते) आयोजनाको विद्युत् जोड्ने सम्झौता गरेको हो ।

सम्झौतामा प्राधिकरणका ग्रिड विकास विभागका निर्देशक दीर्घायूकुमार श्रेष्ठ र आयोजनाका तर्फबाट जनसम्पर्क अधिकृत जनक खनालले हस्ताक्षर गरेका छन् । दूधकोसी हाइड्रो पावर प्रालि स्थापना गरी अगाडी बढाइएको आयोजनामा अधिकांश भारतीय लगानी हुनेछ ।

कम्पनीले सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा सार्वजनिक सुनुवाई लगायत निर्माणपूर्वका काम पूरा गरेको छ । आवश्यक पूर्वाधार तयार गरी बर्खापछि निर्माण सुरु गर्ने कम्पनीको योजना छ ।

आयोजनाबाट उत्पादित विद्युत् थुलुङ–दूधकोसी गाउँपालिकामा निर्माण हुने विद्युत्गृहदेखि १२ किलोमिटर दूरीको तिङ्ला सबस्टेसनमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट भएको छ । आयोजना सुरुमा २ सय ३० मेगावाटमा निर्माण गर्ने गरी अध्ययन भएको थियो । तर, प्राधिकरणले अगाडि बढाएको ८ सय मेगावाटको दूधकोसी जलाशयलाई असर पर्ने भन्दै क्षमता घटाइएको हो ।

कम्पनीले २०७२ बैशाख १२ गते विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको थियो । अनुमतिपत्रको आवेदनमा भने क्षमता २ सय ४० मेगावाट उल्लेख छ । दैनिक ६ घन्टासम्म पानी सञ्चित गरी हिउँद वा विद्युत्को उच्च माग हुँदा सञ्चालन गर्न सकिने (अर्धजलाशय) गरी आयोजनाको अध्ययन भएको छ ।

करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको इआइए नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालि (नेस) र भारतको आरएस इन्भाइरोलिङ टेक्नोलोजी प्रालिले संयुक्त रूपमा तयार गरेका छन् ।

प्रकाशित मिति : बुधबार, ३ असार २०७७ १३:५१

Archives

प्रतिक्रिया दिनुहोस्