Logo

साढे ९ मेगावाटको मध्य सोलुखाेला जलविद्युत आयोजना निर्माण हुने


काठमाडौं । सोलुखुम्बुको सोलु खोलामा साढे ९ मेगावाटको मध्य सोलुखाेला जलविद्युत आयोजना निर्माण हुने भएको छ । मिड सोलु हाइड्रो पावर कम्पनीले आयोजना अघि बढाउन लागेको हो ।आयोजनाको अध्ययन पूरा भइसकेको छ ।

कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र प्राप्तिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी सरोकारवाला समक्ष लिखित राय/सुझाव मागेको हाे । कम्पनी वा विभागको कार्यालयमा प्राप्त हुने गरी लिखित राय सुझाव/सुझाव पठाउन आग्रह गरिएको छ ।

आयोजनाको मुख्य संरचना सोलु खोलाको बायाँ किनारमा निर्माण गरिनेछ । सोलु खोलामा बाँध बाँधी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । सोलु खोलाको पानी फर्काउन ३० मिटर लम्बाई र ३ मिटर उचाईको बाँध निर्माण हुनेछ ।

३ हजार ७ सय ७४ मिटर लामो पाइपलाइन रहनेछ । ३६०.५५ मिटर लामो पेनस्टक पाइप रहनेछ । सतही विद्युतगृह निर्माण गरिनेछ । विद्युतगृहमा ३३ सय ५० किलोवाटका ३ वटा फ्रान्सिस टर्वाइन जडान गरिने कम्पनीले जनाएको छ ।

विद्युत उत्पादन भई निकास हुने पानी पुनः सोलु खोलामा फर्काउन ६० मिटर लम्बाई, ३ मिटर चौडाई र २.५ मिटर उचाईको निकास नहर निर्माण हुनेछ । नदीको बहावमा आधारित यो आयोजना सम्पन्न भएपछि वार्षिक ५७.५२ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

उत्पादन हुने विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ८ किलोमिटर दुरीको तिङ्ला सबस्टेसनमा लगेर जोडिनेछ । याे प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । आयाेजनाबाट २०८९ भदौ १४ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ ।

प्रकाशित मिति : मंगलवार, ९ असार २०७७ १४:५८

Archives

प्रतिक्रिया दिनुहोस्