Logo

पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित, माग पूरा नभएसम्म चरणबद्ध अन्दोलन गर्ने उद्घोष


काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित भएका छन् । कोरोना भाइरस (कोभिड १९)का कारण ठप्प भएको मुलुकको सिंगो पर्यटन क्षेत्रका लागि सरकारले कुनैपनि राहत प्याकेज नल्याएको भन्दै उनीहरुले पर्यटन मजदुर संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन अगाडि बढाएका हुन् ।

प्रकाश घायल राईको संयोजकत्वमा लाक्पा सोनाम शेर्पा सहसंयोजक, ङवाङ छोङ्वा शेर्पा महासचिव, आङदोर्जी शेर्पा सचिव र ङवाङ पासाङ शेर्पा कोषाध्यक्ष रहेको संघर्ष समिति गठन गरिएको छ ।

ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा काम गर्ने गाइड तथा पोर्टरहरु महिनौं कामविहिन भएर कस्टकर दैनिकी बिताउनुपर्ने अवस्था आउँदा पनि नेपाल सरकार, सम्बन्धित रोजगारदाता तथा अन्य सरोकारवाला निकायहरुले बेवास्ता गरेको, टिम्सलगायत विभिन्न स्रोतहरुबाट संकलित रकम समस्याग्रस्त मजदुरहरुका लागि खर्चनुपर्नेमा त्यसो नभएको र पर्यटन क्षेत्र मजदुरमा आधारित व्यवसाय भएकाले यस्तै अवस्था रहिरहे थप गम्भिर संकट उत्पन्न हुने निष्कर्ष संघर्ष समितिको छ ।

गत असार १७ विभिन्न १२ बुदे मागसहितको ज्ञापन पत्र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीलाई बुझाउँदै सुरु गरिएको आन्दोलन चरणबद्ध रुपमा अगाडि बढाइएको संघर्ष समितिका संयोजक राईले जानकारी दिनुभएको छ । उहाँकाअनुसार यसबीचमा विभिन्न निकायहरुसँग छलफल गर्नुका साथै माइकिङसहितको जुलुस तथा शान्तिपूर्ण र्‍याली तथा विज्ञप्तीमार्फत मजदुरहरुको माग सार्वजनिक गर्ने काम गरिएको छ । समस्या उत्कर्षमा पुगिरहेको बेला पनि मजदुर तथा व्यवसायीहरुको हकहितका लागि भनेर स्थापित संस्थाहरु कानमा तेल हालेर बसेकोले आफुहरु सडकमा आउन बाध्य भएको भनाइ संयोजक राईको छ ।

यसैबीच, संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गरी आउँदो असार २२ गते सोमबारको दिन माइतिघर मण्डलामा शान्तिपूर्ण र्‍यालीको आयोजना गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने घोषणासमेत गरिसकेको छ ।

उहाँले सरकार र सम्बन्धित निकायहरुको प्रतिक्रियाका आधारमा अबका आन्दोलनको स्वरुप तय हुने र कुनैपनि हालतमा आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

प्रकाशित मिति : शनिबार, २० असार २०७७ १०:२०
प्रतिक्रिया दिनुहोस्