Logo

कांगे्रस सोलुखुम्बुद्धारा कोरोनाका कारण पर्यटनमा परेको प्रभाव अध्ययन गर्न कार्की नेतृत्वको समिति गठन


सोलुखुम्बु २०, असार । नेपाली कांगे्रस सोलुखुम्बुले कोरोना माइरस (कोभिड १९) का कारण पर्यटन व्यवसायमा परेको प्रभाव अध्ययन गर्नका लागि ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्षसमेत रहनुभएको यूवा नेता चोलेन्द्र बहादुर कार्कीको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समितिसमेत गठन गरेको छ ।

शुक्रबार र शनिबार सल्लेरीमा सम्पन्न कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिको बैठकले गठन गरेको अध्ययन समितिको सदस्यहरुमा आङदावा शेर्पा, देण्डी शेर्पा, हस्तबादुर थापा मगर (दीप), दावा फिन्जो शेर्पा, नविन कार्की, शेर बहादुर मगर, दिप राई, फुनुरु शेर्पा, मन कुमार तामाङ भीमबहादुर कामी रहनुभएको छ ।
कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभावको अध्ययन गरी त्यसको आधारमा आगामी दिनमा पार्टीले ठोस योजना बनाउन समिति गठन गरिएको पार्टी जिल्ला सचिव धनजन राईद्धारा जारी प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड १९)सँग सम्बन्धित राहत तथा उद्धारको नाममा भएको खर्च विवरण अभिलम्ब सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ ।
त्यस्तै कांग्रेस सोलुखुम्बुसँग सम्बन्धित केही व्यक्तिहरुले पार्टीको विधान, नियमावली, परम्परा, अनुशासन र मर्यादा विपरित पार्टी समितिका नाममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भनी सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएकोमा बैठकको ध्यानाकर्षण भएको भन्दै पार्टी सम्बद्ध व्यक्तिहरुलाई पार्टीको विधान, नियमावली, परम्परा, अनुशासन र मर्यादा विपरित स्वघोषित अवैद्य पदीय जिम्मेवारी सृजना गरी पार्टीका नाममा यस्ता गतिविधिहरु संचालन नगर्न निर्देश गरेको छ ।

बैठकले यस बिषयमा जिल्ला अनुशासन समितिलाई आवश्यक छानविन गरी जिल्ला कार्य समिति समक्ष १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको सचिव धनजन राईले जानकारी दिए । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व सभापति आ गेलु शेर्पाको नेतृत्वमा कोरोना बिरुद्धको राहत कोष स्थापनाका लागि प्रत्येक स्थानीय तहमा बिउ पुँजी स्वरुप ५० हजार नगद रकम प्रदान गरिरहेको छ । सभापति बिनोद बस्नेतको अध्यक्षतमा बसेको बैठकले गरेको निर्णय यसैसँग सम्बन्धित रहेको बताइएको छ ।

बैठकले सोलुखुम्बुमा योजनाबद्ध ढंगले नियोजित रुपमा प्रहरी प्रशासनको आडमा कांग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न अभियोग लगाई दुःख दिने, दमन गर्ने र झुटा मुद्धामा फसाउने कार्य भईरहेको प्रति आपत्ती प्रकट गर्दै प्रहरी प्रशासनलाई कानूनको कार्यान्वयन निष्पक्ष रुपमा गर्न गराउनका लागि ध्यानाकर्षण गराएको छ ।

यसैगरी आर्थिक वर्षको अन्त्यमा सबै विकासे निकायहरु, निर्वाचन क्षेत्र विशेष कोषका रकमहरु रातारात खर्च गरी योजनाबद्ध ढंगले अनियमितता गरिरहेको आरोप लगाउँदै जिल्लाभित्र संचालन भएका सम्पूर्ण विकास निर्माण कार्यहरुका खर्चको पारदर्शी निरिक्षण र छानविनका लागि सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

कांग्रेसको बैठकले स्थानीय तहबाट प्रवाह गरिने सेवा सुविधाहरुमा राजनीतिक आस्थाका आधारमा विभेद गरिएको जनगुनासो निरन्तर बढीरहेको भन्दै यस्ता विभेदको श्रृंखलाले निरन्तरता पाइरहेमा नेपाली कांग्रेस सोलुखुम्बु त्यस्ता श्रृंखलाका विरुद्धमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : आईतवार, २१ असार २०७७ ०७:२९

Archives

प्रतिक्रिया दिनुहोस्