Logo

सहकारी क्षेत्रमा पनि सुरु भयो मर्जरको अभ्यास


काठमाडौं । बैंकिङ क्षेत्रबाट सुरु भएको मर्जरको अभ्यास अब सहकारी क्षेत्रमा पनि सुरु भएको छ । शुक्रबार मात्रै दुईवटा सहकारी संस्थाहरु आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेका छन् ।

भक्तपुरको गठ्ठाघरमा रहेको साथीको बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको न्यूरोडमा रहेको किर्ती बचत तथा ऋण सहकारी संस्थाहरु एक-आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

दुई संस्थाहरुलाई गाभिएर साथीको बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार सुचारु गर्न वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ चैतमा अनुमति दिएको थियो । मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुनेमा रहने भएको छ भने साविक दुबै संस्थाको कार्यालय रहेका ठाउँहरुमा सेवा केन्द्र रहनेछन् ।

केही वर्ष पहिले बैंकिङ क्षेत्रमा केन्द्रीय बैंकले ल्याएको पुँजी वृद्धिको योजनापछि बैंकहरुमा मर्जरको बाढी नै आयो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७७ जेठ मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन् । यो तथ्यांक अनुसार बैंकिङ क्षेत्रमा मर्जरको नीति आए यता ७६ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु खारेज भएका छन् ।

सहकारी क्षेत्रमा भने यति सजिलोसँग मर्जर हुन सक्ने अवस्था भने छैन । अहिले मुलुकमा ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु छन् । कतिपय निस्कृय अवस्थामा छन भने धेरै घाटामा चलिरहेका छन् ।

निस्कृय रहेकालाई खारेज गर्न सक्ने र घाटामा रहेकालाई मर्जरमा जान दवाव दिने सरकारी नीति आएको अवस्थामा सहकारी क्षेत्रमा यो नीति सफल हुन सक्ने विज्ञहरु बताउँछन् । नत्र अहिलेकै अवस्थामा भने केही सहकारीहरु आफूखुसी मर्जर भए पनि बैंकमा जस्तो उपलब्धी हासिल गर्न गाह्रो पर्नेछ ।

सहकारी संस्थाहरुको मर्जर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभागको पनि प्राथमिकतामा छ । पछिल्लो समय सहकारी संस्थाहरु मर्जरका लागि आफै तयार हुने गरेको विभाग बताउँछ ।

प्रकाशित मिति : शुक्रबार, १६ श्रावण २०७७ १८:२२

Archives

प्रतिक्रिया दिनुहोस्