Logo

पर्यटन मन्त्रालयले एक वर्षमा खास के के काम गर्‍यो ! यस्तो छ प्रगति विवरण


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गएको आर्थिक वर्षमा ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । वार्षिक प्रगति विवरणको पुस्तिका सार्वजनिक गर्दै मन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण सोचेजस्तो प्रगति हासिल हुन नसकेको उल्लेख गरे ।

उनले यद्यपि मन्त्रालयले गएको आर्थिक वर्षमा केही महत्त्वपूर्ण कामहरू पुरा गरेको बताए । उनका अनुसार नीतिगत सुधार र सुशासन प्रवर्द्धनमा काम भएको उनको भनाई थियो ।
साथै संस्कृति संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुनर्निर्माणमा उल्लेख्य काम भएको पुस्तिकामा उल्लेख छ ।

कोरोनाका कारण मन्त्रालयले पुस्तिका सार्वजनिक गर्न आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पर्यटन मन्त्री भट्टराईले सबैभन्दाबढी पूँजिगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

‘कोभिड–१९ महामारीका कारण पुस÷माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणको यो वर्ष मन्त्रालयको पुँजीगत खर्च ६४ पैतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झन्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।’

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ सङ्घीय संसद्मा पेस भई छलफलको क्रममा रहेको उल्लेख छ । साथै हवाई नीतिको मस्यौदा बनेको बताइएको छ ।

मन्त्रालयको गएको आर्थिक वर्षमा २०७६÷०७७ मा २१ अर्व २१ करोड ६९ लाख कूल बजेट रहेको थियो । वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको पुस्तिकामा उल्लेख छ । यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले महामारीकैबीच पनि कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको ल्ल्ख गरेको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको उल्लेख छ ।

पर्यटन मन्त्री भट्टराईका अनुसार बत्ती तथा केही उपकरण जडानको काम मात्रै भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको बाँकी छ । अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा विलम्ब भएको जनाइएको छ ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनः निर्माणमा कार्यमा पनि सकारात्मक प्रगति भएको मन्त्रालयले जनाएको छ । हालसम्म ४५३ सम्पदाको पुनः निर्माण कार्य सकिएको उल्लेख गरिएको छ ।

सुनधारास्थित निर्माणाधीन २२ तले धरहराको हालसम्म ११ तला बनिसकेको रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको तथा पुरातात्त्विक स्थल संरक्षण सात वटै प्रदेशमा अघि बढाइएको उल्लेख गरिएको छ । ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको छ । १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को शतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : बुधबार, १० भाद्र २०७७ १४:५१

Archives

प्रतिक्रिया दिनुहोस्