Logo

गौतमद्वारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण


काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपरान्ह् राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सिफारिस भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् । गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ ।

राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछि उनले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरेका छन् । आफूले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, २ आश्विन २०७७ ०८:२१

Archives

प्रतिक्रिया दिनुहोस्