Logo

साना तथा मझौला निर्माण व्यवसायीहरुलाई सम्बोधन गर्ने नीति बनाउनुपर्छः सांसद राई


सोलुखुम्बु, १७ असोज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संघीय सांसद हेमकुमार राईले निर्माण व्यवसायीहरु इमान्दार, सक्षम र सफल भएमात्र सम्बृद्ध मुलुक निर्माण गर्ने सपना पूरा हुने बताउनुभएको छ । नेकपानिकट निर्माण व्यवसायीहरुको संगठन नेपाल निर्माण व्यवसायी संगठन, सोलुखुम्बुको शनिबार सल्लेरीमा सम्पन्न प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले सीमित व्यक्तिहरुले मात्रै काम पाउने प्रबृत्तिलाई हटाउनका लागि सार्वजनिक खरिद ऐन बनेको र त्यसलाई समयसापेक्ष थप सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘सार्वजनिक खरिद ऐनले केही राहत दिएको छ’, नेकपा सोलुखुम्बु जिल्ला इन्चार्जसमेत रहनुभएका राइले भन्नुभयो ‘तर, अझैपनि साना र मझौला निर्माण व्यवसायीहरुको संरक्षण र प्रवद्र्धनमा थुप्रै समस्या उत्पन्न भइरहेका छन् । पहिले काम पाउने समस्या थियो, काम भइसकेपछि भुक्तानीको समस्या जो छ, त्यो कुन कुन निकायका कारण भइरहेको छ त्यसको सहजीकरणका लागि हामी गम्भिर भएर लाग्छौ । तपाईहरुबाट पनि आवश्यक सुझाव आउनुपर्छ ।’

एक अर्को प्रसंगमा सांसद राईले नेपाली समाजमा व्यप्त राजनीतिक दल, कर्मचारीतन्त्र र ठेकेदारले चाही राज्यको श्रोतमाथि दुरुपयोग गरिरहेका छन् भन्ने बुझाई र दृष्टिकोणलाई आफ्नो व्यवहारबाट बदल्नुपर्ने आजको पहिलो आवश्यकता भएकोमा जोड दिनुभयो । जनताको चाहाना र पार्टीको प्रतिष्ठालाई जोगाउँदै जनमुखी काम गर्नका लागि निर्माण व्यवसायीहरुको यो संगठनले नेतृत्व गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले गुणस्तरीय विकास निर्माणका लागि निर्माण व्यवसायीहरु जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । कुनैपनि पेशाविना पार्टीको सक्षम नेता र कार्यकर्ता बन्न नसक्ने उल्लेख गर्दै अरुले के गरिरहेका छन् भन्दा पनि आफुले असल र गुणस्तरीय काम गरिरहेको छु कि छैन भन्ने हेक्का राख्न सुझावसमेत उहाँले दिनुभयो ।

नेकपा सोलुखुम्बु जिल्ला अध्यक्ष मानवीर राईले सुखी नेपाली, सम्बृद्ध नेपाल निर्माणका लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्दै अब्बल र इमान्दार निर्माण व्यवसायी बन्नका लागि सुझाउनुभयो ।
‘हिजो विचार र दृष्टीकोणहरु फरक भएका कारण हामीबीचमा तिक्तता थियो’ उहाँले भन्नुभयो ‘अन्तत सबैको उद्देश्य एउटै भएकाले आज एक भएका छौ । अब मिलेर संगठीत भएर जनताको अपेक्षाअनुरुप काम गरौं ।’

नेकपा सोलुखुम्बु जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले दुई वटा पार्टीको एकतासँगै संगठनको एकता भएकाले दुवै संगठनको इतिहासलाई सम्मान गर्दै नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले व्यवसायीहरुले ठेक्का लिएपछि समयमा पूरा गर्नुपर्ने, इमानदार रुपमा लाग्ने व्यवसायीहरुले खेप्नुपर्ने समस्या र चुनौतिहरु एकताबद्ध भएर सामना गर्नुपर्ने र निर्माण व्यवसायीको नाममा हुने गलत प्रबृत्ति र विकृतिविरुद्ध निर्मम र कठोर भएर लाग्दामात्रै दुईटा संगठनको एकताले सार्थकता पाउने बताउनुभयो ।

नेकपा प्रदेश कमिटी सदस्य आङङिमा लामाले राष्ट निर्माणको एउटा कडी निर्माण व्यवसायीहरु भएकोले उनीहरुले नियमकानुनसम्मत र दीगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएको भन्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने विकास निर्माण भएको कि भएन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

संगठनका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य महेश किरातीले यो वा त्यो नाममा निर्माण व्यवसायीहरुलाई बद्नाम गर्ने काम भइरहेको भन्दै राजनीतिक नेतृत्व, जनप्रतिनिधि र कर्मचारीतन्त्रबाट निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
निर्माण व्यवसायीहरुको समस्या के हो जनप्रतिनिधि र पार्टी पंक्तिले बुझ्नुपर्नेमा पनि उहाँको जोड थियो ।
‘कोही मान्छे जनताको सेवा गर्छु भनेर आउने हो भने व्यवसायी हुनुपर्दछ पर्छ’ उहाँले अगाडि थप्नुभयो ‘त्यसो हुन सकेन भने भ्रष्टाचार बढ्ने कुरामा दुईमत छैन । अर्को कुरा स्थानीय तह, प्रदेशको टेण्डरबारे लेखाजोखा गर्न जरुरी छ ।’

प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले अर्थनीति परिवर्तन हुँदैजाँदा निर्माण व्यवसायीहरुमाथि चुनौति पनि थपिरहेको टिप्पनी गर्दै जनता, उपभोक्ता, व्यवसायी र सरकारले आआफ्नो ठाउँबाट उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण व्यवसायी र नेताबीचको भिन्नता छुटाउने बहस हुनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘निर्माण व्यवसायीले जिम्मा लिएको काम पूरा गर्नुपर्छ, त्यसपछि आइपर्ने समस्या समाधानमा हामी सदैव लागिपरेका छौं’ उहाँले भन्नुभयो । बस्नेतले अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या उत्पन्न भएकोले त्यसनिम्ति संगठनले सुझबुझका साथ पहल लिनुपर्ने पनि बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पहुँचको आधारमा ठेक्का पार्ने अनि समयसिमामा गुनस्तरीय काम नहुने समस्याले वास्ताविक निर्माण व्यवसायीहरु मारमा परिरहेको बताउनुभयो ।

यो समय निर्माण र पुनर्निमानको हो । पूर्वाधार निर्माणको माध्यमबाट सम्बृद्धिको सुरुवाती चरणमा छौं उहाँले भन्नुभयो त्यसैले अरुले पनि सोलुको जस्तो व्यवसायी हुनुपर्दछ भन्ने उदाहरण तपाई निर्माण व्यवसायीले पेश गर्नुस । अध्यक्ष राईले विकास निर्माणमा यूवाहरुको स्पीरिडलाई बुझेर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेचा सल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले निर्माण व्यवसायीहरु जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क हुने भएकाले उनीहरुको माध्यमबाट पार्टीको विचार र संगठनलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले निर्माण व्यवसायीहरुमाथि लागेको नकारात्मक दाग हटाउन स्वयं व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले निर्माण व्यवसायीहरु मुलुकको विकासका लागि महत्वपूर्ण कडि भएको बताउनुभयो । उहाँले दीगो विकास आजको आवश्यकता भएकोले निर्माण व्यवसायीहरु पनि त्यसमा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश कमिटी सदस्य रामकिरण राईले निर्माण व्यवसायीहरुको थुप्रै पीडा भन्दै एउटा भुगोलका व्यवसायीलाई समस्या पर्दा अर्को भूगोलका व्यवसायीलाई दुख्ने वातावरण बनेमात्रै संगठन एकताले सार्थकता पाउने बताउनुभयो । उहाँले प्रदेश सरकारबाट विल पास भइसकेका कामको करोडौ निकासा दिन नसकेको गुनासोसमेत पोख्नुभयो ।

संगठनका प्रदेश कमिटी सदस्य जुद्ध कार्कीले भूमिगत संघसंगठन अनि कर्मचारीतन्त्रलगायतबाट निर्माण व्यवसायीहरुले विभिन्न खालका झन्झट खेप्नुपरेको बताउँदै त्यसविरुद्ध व्यवसायीहरु एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा विजय तामाङको नेतृत्वमा संगठनको १९ सदस्यीय जिल्ला कमिटीलाई सांसद राईले सपथ ग्रहण गराउनुभयो । जिल्ला कमिटीको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा विकास श्रेष्ठ, सहसचिवमा दुर्गा राई र कोषाध्यक्षमा दावा तामाङ रहनुभएको छ भने सदस्यहरुमा गोरेबहादुर थापा मगर, भक्त राई, निर्मल श्रेष्ठ, दिप किराती, भूपाल मगर, युजन बस्नेत, नुरुलामा, उत्तरकुमार राई, कामीनिमा शेर्पा, कमल बहादुर बस्नेत, रामकुमार राई, दिपक भुजेल, दावा ग्याल्जेन शेर्पा र नरेन्द्र गुरुङ हुनुहुन्छ ।

प्रकाशित मिति : शनिबार, १७ आश्विन २०७७ १७:५७

Archives

प्रतिक्रिया दिनुहोस्