Logo

पर्यटनमन्त्री योगेश भट्टराई कात्तिक २१ मा सोलु आउँदै, कांगेल विमानस्थल सञ्चालनार्थ स्थलगत निरिक्षण गर्ने


काठमाडौं, १८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अवस्थित कांगेल विमानस्थलको स्थलगत निरिक्षण गर्नुहुने भएको छ । बन्द रहेको कांगेल विमानस्थल सञ्चालनमा ल्याउनलगायतका उद्देश्यले आगामी कात्तिक २१ गते मन्त्री भट्टराईले स्थलगत निरिक्षण गर्ने कार्यक्रम तय गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

अध्यक्ष राईले दिनुभएको जानकारीअनुसार मन्त्री भट्टराईसँगै सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राईलगायतको सहभागिता रहने टोलीले कांगेल विमानस्थलको निरिक्षणपछि गुदेलमा बन्न लागेको महाकुलुङ विमानस्थल क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

सांसद हेमकुमार राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई र महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती सहभागि टोलीले आज मन्त्री भट्टराईसँग गरेको भेटवार्तापछि यो कार्यक्रम तय गरिएको हो । अध्यक्ष राईले विमानस्थललाई सदुपयोगमा ल्याएर नियमित उडान भर्ने वातावरण तय गर्नका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उडान अवतरणको लागि प्राविधिक रुपमा अप्ठेरो हुनुका साथै राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुनु र निजी क्षेत्रले उडान भर्न नमान्नुलगायतका कारण केही वर्षदेखि कांगेल विमानस्थल ठप्प बनेको हो । यता महाकुलुङ विमानस्थलको भने वातावरणीय प्रभाव मुलयांकन पास भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा रहेको छ ।

प्रकाशित मिति : मंगलवार, १८ कार्तिक २०७७ २०:००

Archives

प्रतिक्रिया दिनुहोस्