Logo

किरात खालिङ राई र चुला : मानवशास्त्रीय अध्ययन


१. पृष्ठभूमि

बंशवालीअनुसार माप्य र दिक्प्यका सन्तानहरु नै खालिङ राई हुन् (राई, २०५८) । उनीहरुको सघन वसोबास सोलुखुम्बुको जुभिङ, वाकु, पावै, काकु, वासा, टाक्सिन्दु गाविसहरु हुन् । तर अहिले टाक्सिन्दु र पावै वाहेकका चार गाविसहरुको समायोजनबाट माप्य दुधकोशी गाउँपालिका बनेको छ । यसलाई खालिङहरुको बाक्लो उपस्थिति रहेको गाउँपालिकाको रुपमा चिनिन्छ । खालिङ शव्द ख्यालबाट बनेको हो (खालिङ, २०७३ :३६) । उनीहरुको भाषालाई ख्याल् ब्रा भनिन्छ । खालिङ भाषा भोटबर्मेली भाषा अन्र्तगतको साइनो टिवेट परिवारमा पर्दछ (राई, २०१५:९) । खालिङ राईहरु भाषिक, साँस्कृतिक तथा भौगलिक हिसाबमा अन्य राईहरु भन्दा अलक पहिचान बोकेको भाषिक समुदाय हो ।
साँस्कृतिक आधारको रुपमा तीन चुलोलाई मान्दछन् । न्यगी मुख्य कुलको रुपमा पुज्दछन् भने वास (साकेला) चाही उभौली र उधौली ठूलो चाडको रुपमा मनाउने गर्दछन् । खालिङहरु सोलुखुम्बु जिल्लाबाहेक ओलढुङ्गा, खोटाङ, भोजपुर , उदयपूर, पाचथर, सँखुवासभा, झापा र ईलामा जिल्लामा पनि बसोबास गर्दै आएका छन् भने नेपाल बाहिरका देशहरुमा भारतको विभिन्न ठाउँहरु, युरोप तथा अमेरीका पनि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् ।
२. सोलुखुम्बुका प्राचीन बासिन्दा खालिङ
साँस्कृतिक, भौगलिक तथा मिथकको आधारमा खालिङ राईको मुख्य बसोवास क्षेत्र सोलुखुम्बुको दुधकोशी वरिपरिका जुभिङ, वाकु, पावै, वासा, कांकु तथा टाक्सिन्दु गाविसहरु पर्दछ । रोजगारी र अवसरको खोजिका कारण अहिले ओखलढुङ्गा, खोटाङ, भोजपूर, उदयपूर, पाचथर, इलाम र काठमाण्डौ उपत्यका जिल्लाहरुमा पनि स्थायी तथा अस्थायी बसोसाबास गर्दै आएका छन् । केही मात्रामा युरोप, अमेरीका जस्ता देशहरुमा पनि छरिएर बसोबास गर्दै आएका छन् । पूर्खारुको भनाई अनुसार माप्यले शिकार खेल्दै जाने क्रम्मा माप्य सुनकोशीको बराहा क्षेत्रबाट शाल्पा भञ्ज्याङ, महाकुलुङ गाउँ हुदै ५८४५ मि.को उचाइमा रहेको आम्फूलाप्चा भञ्ज्याङ छिचोल्दै खुम्बु उपत्यका भित्र प्रबेश गरे । लामो समय सम्म हालको पाङमुजे (पामुछे), लबुचे (लफू चे) जस्ता ठाउँहरुमा लामो समय सम्म बसे । त्यही बसाईको क्रममा गेल्जोङम्या १ (भोटबासी महिला)सँग बिहे गरेर बसे । पछि पर्यावरणीय अनुकुल नभएको कारण इम्जा खोला पछ्याउदै तल झरे ।
भोटेकोशी र इम्जा खोलाको दोभानामा खोला तर्न कठिन भयो । त्यसबेला माप्यले आफूसँग भएको मन्त्र र ढ्यङग्रो प्रयोग गरि खोला तरे । त्यही समयम आफ्नो शक्ति जाँच गर्दा पहाडमा ढ्यङग्रो बजारेका थिए । त्यसको डाम अझै देख्न सकिन्छ (फोटो न १) । माप्यसँग तान्त्रिक शक्ति भएका कारण विभिन्न भौगोलिक कठिनाइलाई तान्त्रिक विद्याको प्रयोग गर्दै तल झरे । गेल्जोङ्म्या दोजिया भएका कारण ख्युच्युफ्युक भिरमा अड्किए मृत्यु भयो । त्यही ठाउँम सदगद गरे र त्यही दिन माप्यले कसम खाएका दिए आजदेखि मेरा सन्तानहरुले शेर्पासँग विवाह नगरुन् किन कि सम्बन्ध नफाप्ने रहेछ भनेर । अहिलेको बुक्सा(बुबुसा)२ गाउँमा आएर बस्न थाले । माप्यले पहिलाको श्रीमतिसँग फेरी भेट भयो ।
अहिलेको बुबुसाबाट खालिङहरुको व्यबस्थित गाउँको बिकास भएको मान्दछन् । त्यहीबाट माप्यका सन्तानहरु अहिले संसारभर फैलिएका छन् । केही बर्ष पछि माप्य हातेमूमा बसेका थिए । त्याही समयमा माप्यले आफ्नो कुल साक्षी राखी द्वास्नङ लगाएका थिए जुन बेला बनाएको तीन चुलोका भग्नाबशेष अझै पाउन सकिन्छ । यसरी मप्यले पनि चुलाको मुन्दुमी प्रयोग गरेको प्रमाणहरु पाउन सकिन्छ । त्यस्तै खुम्बु क्षेत्रमा अझै पनि खालिङ भाषाका केही नामहरु प्रचलनमा रहेको छ जस्तै लबुचे (लफू चे ) पाङबुचे (पा मुछे ), मिलुङ, नामचे ( न्वम मुछे ), छ्योपलुङ छेप्यालुङ जस्ता थुप्रै नामहरु अझै रहेका छन् ।
अहिले बसोबास गर्दै आइरहेका शेर्पाहरु सन १५३१–३ सम्म मा बसाई सररेस बसोबास गर्दै आएका हुन् र उनीहरुले राईहरुलाई प्रतिस्थापन गरेर बसोबास गरेका हुन भन्ने उनीहरुको मौखिक परम्परा पनि छ (ह्वेल्पटन, २००५ : १२)। जुन खालिङहरुको आस्थाको केन्द्र मृत्युपछि आत्मलाई पठाउने पवित्र ठाउँ पाङमुचे (पामुछे) ले पनि देखाउछ ।
वर्तमान अबस्थामा बसोबास गरिरहेका ठाउँहरुमा खालिङ बस्तिहरुको नाम पनि पञ्चायत शासन व्यबस्थाको कारण केही परिवर्तन भएका छन् जस्तै ज्युव्यू जुभिङ, फल्ले फूलेली, यगच्वाई बासा, आदि । यस्तै थप्रै स्थान नामले पनि खालिङहरुको आदिम थलो सोलुखुम्बु नै हो भन्ने बलियो प्रमाण हो ।
नेपालको जनगणना २०६८ को तथ्याङलाई हेर्दा खालिङ थर लेख्नेको संख्या १५७१ उल्लेख छ भने खालिङ भाषा बक्ता भने १४४६७ देखाएको छ । यसरी खालिङ थर लेख्नेको तुलनामा खालिङ भाषा बोल्नेको संख्या बढि देखिन्छ किनकी जनगणनाको क्रम्मा केहीले थर खालिङ र केहिले राई मात्र लेखाएका कारण पनि यस्तो धेरै सङख्यामा फरक देखा परेको हो तर, नेपालमा राई थर लेख्ने ६,२०,००४ जना रहेका छन् । पूर्ण बहादुरका अनुसार सोलुखुम्बुमा मात्रै खालिङको सङ्ख्या ११६६० रहेको छ (खालिङ, २०७३:३७)। अझै पनि नेपालमा बसोबास गर्ने सम्पूर्ण खालिहरुको पूर्ण र स्पस्ट भाषिक तथा जातिय सर्बेक्षण भने भएको पाइन्दैन् ।
३. चुलाको उत्पति : मिथक र प्रागऐतिहासिक आधार
मानव सभ्यताको विकाससंगै मानिसले खाना पकाएर खाने संस्कृतिको विकास गरे । खालिङ समुदाय पनि घुमन्ते तथा शिकारी युगकदेखि नै शिकार तथा कन्दमुल पोलेर खाने ज्ञान प्राप्त गरे । समाजको उद्विकास सँगसँगै मानिसहरु स्थायी घर बासोबास गर्न थाले । सोही क्रम्मा नै खालिङहरुको पूर्खा खाक्चलपले घर बनाउन सिके र त्यही समयबाट तीन चुला बनाउन पनि थालेका हुन भन्ने भनाई पाइन्छ । जब नयाँ घर बनाएपछि नयाँ चुलाको स्थापना गर्नुपर्ने र नयाँ घर प्रवेशको दिन घरमा सधै शुभ होस, प्रगति र सम्बिृद्धि होओस भन्ने उदेश्यले अनिवार्य कुखुराको बलि चढाउनु पर्ने मुन्दुमि मान्यता छ । यदि त्यसरी नगरिएमा घरकामा शुभ नहुने मान्यता भएकोले नयाँ घर प्रवेशको दिन सबै छिमेकी तथा गाउँलेलाई बोलाएर तीन चुलालाई ची जाड र फरम ले चोख्याउनु पर्ने चलन छ ।
तीन चुला खालिङहरुको मुन्दुमको आधार हो । तीन चुलो विना मुन्दुमका श्लोकहरु कल्पना गर्न सकिदैन । सम्पूर्ण खालिहरुको जन्मदेखि मृत्यु पश्चातको अन्तिम मृत्यु सस्कार सम्म अनिवार्य चाहिने जीज हो । न्यगी, वास, बुज्वा, विवहा तथा सम्पूर्ण शुभ तथा अशुभ कार्यको लागि तीनचुलाको पूजा अनिवार्य छ । खालिङहरुको पुर्खा माप्यले पनि बुक्सा बाट ज्युव्यु जुभिङ झरेर तितृ / वंश नाम द्वास्नङ ४ लगाउदा बनाएको चुलोको भग्नबशेष अझै पनि छ । यासरी चुलोको र मुन्दुम प्रयोग भने सँसगै नै प्रयोगमा आएको हो भन्न सकिन्छ ।
जङगबहादुर राई
जङगबहादुर राई

४.चुलाको प्रकार

उपयोगीताको हिसाबमा खालिङहरुको दुई किसिमको चुला हुन्छ । मुन्दुम काम गर्न मिल्ने वा पितृ स्थापना गरिएको चुलो र सामान्या खान पकाएर खान मिल्ने चुलो जस्ले मुन्दुमी मान्यता प्राप्त गरेको हुदैन । मुन्दुमी मान्यता प्राप्त चुलो विधिवत रुपमा घरभित्र स्थापन गरिएको हुन्छ । खान पकाउन मिल्ने अस्थायी प्रकृतिका चुलाहरु पनि स्थापना गरिए पनि त्यसले भने मुन्दुमी मान्यता पाउदैन । घरभित्र सांस्कृतिक आधारमा निमार्ण गरिएको चुलो स्थायी प्रकृतिको हुन्छ । आधुनिक विकासमको प्रभावमा अजकाल नायाँ किसिमका चुला भए पनि मुन्दुमी चुलालाई सुंक्षित गरेर राख्नेगरेका छन् । त्यसैले चुलो विनाको खालिङ घर हुन सक्दैन् । मुन्दुमी तम्र अनुसार स्थापना गरिएको चुलोको आफेनै नामहरु रहेका हुन्छन । जस्लार्ई पखलुङ, मखलुङ, सेम्बलुङ भन्दछन् । पखलुङ, मखलुङ र सेम्बलुङले बुवा, आम र पाहुना वा छिमेकीको प्रतिनिधि गर्दछ ।
जब मुन्दुमी कार्या हुदा त्यसरी नै सम्बोधन हुने गर्दछ । पितृ चाढाउने पनि दुई किसिमको चुलो हुन्छ । घर भित्र निमार्ण गरिएको चुलोमा पितृ पनि चढाइन्छ र खाना पनि पकाउने काम गरिन्छ तर दोश्रो किसिमको चुलो चाहि घर बाहिर चौताराम मात्र बनाइन्छ । कुनै व्यक्ति घरबाहिर मृत्यु भएमा वा धेरै घाउखटिराको कारणबाट वा बच्चा जन्माउन नसकेर आमा र बच्चा दुवैको सगै मृत्यु भएमा त्यस्तो खालको मरण पितृमा चढाउदैन्न र कुनै सार्वजनिक ठाउँम धारा, कुवा, बाटो निमार्ण र चौतार वा फैचा बनाउने चलन छ । यदि चौतार बनाउनु परेका त्यहा चुलो निमार्ण गरिन्छ र त्यो दिन त्यहाँ मुन्दुम गरिन्छ । यो घर बहिरको नराम्रो मरणको चुलो जुन एक दिन मात्रै पितृ चढाउछन् । यस्तो खालको पितृलाई राङली ३ भन्दछन् । जुन दिन देखि कहिल्यै अन्या पितृ पुजामा बोलाइन्दैन र यस्तो आत्मलाई पाङमुचे वा दुधकुण्डो पठाउदैन । यस्तो खाल्को अत्मचाही सिया वा वयु भन्ने चलन छ जस्ले मानिसलाई विरामी बनाउँछ भन्ने विश्वास छ । तेस्रो किसिमको चुलो सामान्य खान बनाउन बनान्छ जहाँ तीन चुलो नै भए पनि त्यहाँ कुनै मुन्दुमी काम गरिदैन, यस्तो मान्यता पनि पाउदैन । ठूलठूला भोजभतेर कार्यक्रममा पनि चुलोको निमार्ण गरिन्छ तर काम सकेपछि भत्काएर राखिन्छ । यस्तो खालको चुलोको मुन्दुमी मान्यता पाउदैन ।
५.चुलाको वास्तु विधि वा अवस्थिति
खालिङ समुदायमा तीन चुला घर निमार्ण पछि मात्र स्थापना गरिन्छ । नयाँ घरमा प्रबेशको दिन चुलोलाई पितृ स्थापना गरि पूर्खाहरुले पुज्ने गर्दछन् । घरमा प्रयोग गरिएको मुख्य दलिन (निराल) ठीका साध राखेर जमिनको भित्ता पर्ने तिरको भागमा चुलोको निमार्ण गर्दछन् ।
खालिङहरुको घरमा एउटा मुल ढोका र अर्को जस्केला गरी दुइवटा ढोका राखेको हुन्छ । घर भित्रको चुलोको अवस्था वा घरको वास्तु अवस्था कुलुङ राईसँग हुवहु मिल्न जान्छ (म्यकडोगल्स,१९९७ : ६१–६४) । चुलोको उत्तरी भागमा मोसम हुन्छ त्यही भागको ठीक भाथी भित्तामा देम्फे बनाएको हुन्छ जस्लाई पितृ राख्ने ठाउँ हो । घर भित्रको विभिन्न भागको अबस्थाहरु मुलढोको आधारमा विभाजन गएिको हुन्छ । जस्केला पटिको ठीक अगाडि भागलाई आमा (महिलाहरु) को भाग हुन्छ छ । ठीक मुल ढोकाको अगाडीको दाया र बाया भाग पहुनाहरुको लागि हो भने मोसम पटिचाही पूर्खाहरु वा मुन्दुमीह्ररु बस्ने ठाउँ हो । मोसम पटि पितृ पनि राख्ने भएकोला महिलाहरु प्रबेश गर्दैन्न । यही चुलोलाई वीचभागमा राखेर सम्पूर्ण मुन्दुमी कार्य गरिन्छ जस्तै विवाह, वास, न्यागी, मृत्यु सस्कार आदि । घरमा शुभलाभ होस र कुनै अप्रिय घटना नहोस् भनी घरलाई भोग दिने चलन छ । घर प्रबेशको दिनमा पहिलोपटक तीन चुलालाई अदुवा र सरुवाले चुलोलाई पूर्खाहरु (मुन्दुमी) द्वरा पुज्दछन् । त्यतिबेला श्लोकहरु यसरी पनि गाउने गर्दछन् । यसरी चुलो पुज्दा त्यही बंशको द्वस्नङ अनिवार्य चाहिन्छ र चुलोमा मुन्दुमी प्रक्रियाबाट पितृ स्थापना गर्दछन् । यो चुलो स्थायी प्रकृतिको हुन्छ ।
६. चुला निर्माण वा स्थापना विधि
खालिङ समुदायमा चुला निमार्ण गर्नलाई पहिला घर निमार्ण गर्नु अनिवार्य हो । खालिङहरुको घर आयतकारको हुन्छ । प्रया पूर्वतिर मुला ढोका बनाउन प्रचलन भए पनि भूगोलको झुकाप अनुसार घरको ढोका राख्ने चलन छ । जब मुला ढोका राखिसकेपछि मात्र चुलो राख्ने स्थान पहिचान हुन्छ । घरको ठीक बीचभागमा दलिम वा निराल राखिन्छ जस्ले घरको चौडाइलाई आधा बनाउछ । मुल ढोकाबाट प्रवेश गर्दा कुना वा भित्ता पटि चुला राखिन्छ । चुला बनाउदा वर्गकारमा निमार्ण हुन्छ । जुन वार्गभित्र तीन चुला स्थापना गएको हुन्छ ।
वर्गाकार भागलाई चारै छेउमा पातलो ढुङ्गाले घेरिएर निर्माण भएको चौकोस् हुन्छ जस्लाई अगेना (हुलु ) भनिन्छ । यो हुलुलाई घेरेर राख्ने ढुङगालाई खालिङ भाषामा सरेस लुङ भनिन्छ भने मुन्दुमी नाम चाही स्युरी छेल रेबलुङ, बव छेब थाङ्म्यलुङ भन्दछन् । नयाँ घर बनिसके पछि चुलो निमार्ण गर्न पाको पूर्खाहरुद्वार उपयुक्त ढुङ्गाको खोजी गर्दछन । ढुङगा आगोमा पोल्दा पनि नफूट्ने खालको बलियो हुने ढुङगालाई नै चुलो लुङ छनौट गर्दछन् । ढुंगालाई भेटिसके पछि चोखो जाड र अदुवले पछिने गर्दछन र हुलुमा ल्यएर त्रिकोण आधारामा गड्दछन । पखलुङ, मखलुङ, सेम्बलुङ क्रमश मोसम(बुवा), आम (महिला) र पहुना बस्ने ठाउँपटि क्रमस गडिएको हुन्छ । नयाँ घर प्रबेश गरेको दिन चाहिँ मुन्दुमीहरुले घरधनिको द्वस्नाङ उचारण गर्दै चोखो सरुवा र अदुवा चढाउदै पितृ स्थापा गर्दछन् । घडीको सुई घुम्ने दिशामा पुज्ने चलन रहेको छ ।
७.मुन्दुममा चुलाको व्याख्या
चुलो र मुन्दुम एउटै सिक्काका दुई पाटा हुन । चुलो विना मुन्दुम सम्पन्न हुदैन । मुन्दुम विना चुलोको कुनै महत्वा रहदैन । त्यसैले चुलो र मुन्दुमवीचको सम्बन्ध अन्र्तसम्बन्धित छ । चुलोलाई मुन्दुमको बेला जहिले पनि बेन्ची सरुवाले पुज्ने चलन छ । चुलोलाई पुज्दा कुन कार्यको लागि हो त्यही काम अनुसारको मुन्दुमी श्लोक वाचन गर्दछन् । न्यगी, विबहा, वास, घर साइत जस्ता कार्यमा भिन्दा भिन्दै तरिकाले फलाक्ने गर्दछन् । यसरी चुलोलाई पुज्दा वा मुन्दुमी कार्यसम्पादा गर्दा द्वस्नङ पनि अनिवार्य चाहिन्छ ।
जस्तै न्यगी पुजा गर्दा गाउने श्लोक : हुलु कन्या सुरु
त्यो सब ग्लेललो लबग्लेललो, ग्लेसा नो ए, द्वाब्सा नो ए, ख्यम्या देल्लो, दिम्या देल्लो, बेने न्याम्गो न्याम्न्युतो, त्यो सबको ग्लेललो, न्यगी चि ग्लेल्लो, ग्लेसा नो ए द्वाव्सा नो ए ,पखलुङ नो ए , मखलुङ नो ए ,सेम्बलुङ नो ए, त्यो निन्वाम च्यो पो पखुचे तमलुङ नो ना गो ।
त्यो अ्वोच्छी लोक्तो , सास्अ्वा पिप्या सास्अ्वया त्योल्व्यो, ल्यव्या पिप्या ल्यव्या त्योल्व्यो, म्यन्युरी त्योल्व्यो , मछान्री त्योल्व्यो, छलल्याम त्योल्व्यो, मिनल्याम त्योल्व्यो, ह्यदी ल्याम त्योल्व्यो , बेरेल्याम त्योल्व्यो
त्यो खुदुजी मइक वो, मालुजी मइक ओ, मिन जी मइक ओ , सवजी मइक ओ ग्लोजी मइक ओ , मर्सजी मइकओ , वोयजी मइक ओ , त्यो वोयजी रेम्न्या, खुदुजी रेम्न्या, मालुजी रेम्न्या
हरेक कार्यमा चुलाई पुज्छन् र तीन चुलाको नाम पुकारर्दै अशिवार्द माग्ने चलन छ । सम्बन्धित घरमा वा त्यो समुदायमा कुनै त्यस्तै दुख नहोहोस, सधै शन्ति छाओस । यदि त्यस्तो अशुभ हुन लागे पनि पर पर भागाओस । हामीलाई रक्षा गर्नु । यो न्यगी चि सरुवाले आज पुजेका छौ । हामीलाई रक्षा गर्नु भन्ने अर्थ हुन्छ । यो घरको कुनै अनिष्ट नहोस । अन्नबाली, पशुपक्षी तथा मानवमा कुनै क्षति नहोस । हाम्रो सक्षा गर्नु । तपाईलाई यो न्यगी चिले पुजेका छौ भन्ने अर्थ हुन्छ । चुलो पूज्दा गाउने रिसिव्या ठाउँ अनुसार केही फरक भए पनि यसको सार तत्व भने एउटै रहेको पाइन्छ । तसर्थ खालिङ राई र चुलोको सम्बन्ध मुन्दुममा अक्सिजन र प्राणजस्तै रहेको पाइन्छ ।
८. चुलाको महत्व
चुलो खालिङ संस्कृतिको आधार हो । चुलाविना खालिङ कल्पना गर्न सकिँदैन । उनीहरुको जीवन चुलोमा अडिकएको छ । हरेक मानिस सास्कृतिक प्राणी हुन । उनीहरु सांस्कृतिक प्राणी बनाउने पहिलो आधारस्तभ्भ नै नीन चुला हो । तीन चुला भनेको आमा, बुवा र पहुना वा छोरीचेलीहरुको तीन सँगम हो । चुलो खालिङहरुको पवित्र मन्दिर वा आस्था, इतिहास हो । चुलो पुजा विना खालिङ हुन सक्दैन्न किन की खालिङ हुनलाई तीन चुलो जन्म देखि मृत्यपर्यन्त पनि पुजि रहनु पर्दछ । खालिङहरुको विवहा हुदाँ पनि पहिला न्यगी गर्नु पर्छ न्यगी मनाउने क्रम्मा चुलो सरुवाले पुज्नु पर्छ । हरेका बेहुला र माइती पक्षको दुइपक्षीय पूर्खा र चार कल्ले पनि यहि चुलोको ठीक वारिपरि बसेर छोरी चेली र ज्वाइलाई सात जुनी सम्मको कसम खुवाउछन् । मुन्दुमामा तीन चुलो भनेको इजलास गर्ने ठाउँ पनि हो ।
१०. निचोड र सुझाव
यो अध्ययन विभिन्न समयमा हुने वास, न्यगी, विबहा जस्ता कार्यहरुको सहभागितामूलक अवलोकन तथा स्रोत व्यत्तिहरुसँगको अन्र्तवातामा आधारमा गरिएबको हो । तीन चुलो खान पकाउन सजिलोको लागि मात्र नभएर एक सास्कृतिक तथा ऐतिहासिकता बोकेको पवित्र स्थला हो । जसले सिङगो खालिङहरुको जीवान र जगतको बारेमा अथाहा इतिहास बोकोको हुन्छ । हेर्दा समान्या तीन ढुङको भाडाकुडा अड्याउने देखिए पनि यसको सास्कृतिक तथा धार्मिक महत्वा खालिङ समाजमा गहिरो छ । खालिङहरुको आस्था वा जीवन नै तीन चुलाबाट सुरु हुन्छ ।
• चुलो खालिङ राईहरुको आस्थाको केन्द्र (मन्दिर हो) जहाँ पितृ चाडाइन्छ ।
• चुलो किरात राईहरुको एकताको प्रतीक हो ।
• चुलो आमा, बुवा र पहुनाहरुको केन्द्रिकृत प्रतीक हो ।
• चुलो खालिङ राईहरुको सास्कृतिक केन्द्र हो । चुलो पुज्नु पितृको सम्मान मात्र हैन इतिहास फलाक्नु हो ।
• चृुलो त्याग्नु खालिङबाट विलयन हुनु हो ।
• चुलो पुज्नु पितृलाई सम्मान गर्दै इतिहासलाई समरक्षण गर्नु हो । तसर्थ चुलो खालिङहरुको पहिचानको नाभि हो ।
सुझावहरु
• तीन चुलाको बारेमा साँस्कृतिक तथा ऐतिहासिकताको बारेमा अध्यायन अनुसन्धान गर्न जरुरी छ ।
• तीनचुलको प्रतीकात्मक तथा ब्यवहारिक अर्थलाई मानसाश्त्रीय तथा समाजाशास्त्रीय दृष्टिकोणबाट अध्यान तथा अनुसन्धान गर्नुपर्दछ ।
• आधुनिकरणको नाममा चुलोको महत्वलाई नबुझि दिप्रतिदिन सम्बन्धित समुदायहले प्रयोग गर्न छाढेका देखिन्छ । चुलोको साँस्कृतिक तथा ऐतिहासिकताको मत्वा बुझाउन समय समयमा युवाहरुलाई प्रशिक्षण गराउनु पर्ने आबश्यक छ ।
• चुलोको अध्यायन एकतफी ज्ञानले मात्र सत्यताको नजिक पुग्न नसकिने भएकोकोले भाषाशास्त्री, मानबशास्त्री, सम्माजशास्त्रीय जस्ता दृष्टिकोणबाट अध्ययन गरे बढी यर्थाततामा पुगिनेछ ।
• चुलो मुन्दुमो प्रयोग गर्ने भौतिक स्थल हो तर खालिङहरुको अलिखित मुन्दुम पाका पुर्खाहरुसँगै नाश हुदै जाने भएकोले चाडो भन्दा चडो सम्बन्धित समुदायले श्रब्य दृश्य दुबै माध्यामका दस्ताबेजीकरण गर्न जरुरी देखिन्छ ।
११. स्रोत व्यक्तिहरु
पूर्ण खालिङ रार्इं (जिरिसे ) दुधकोशी गा.पा २
जितबहादुर राई (गोरिसे ) दुधकोशी गा पा १
१२. सन्दर्भ ग्रन्थसूचि
• राई चन्द्रबहादुर, २०५८, ख्याल रादु छेस्कु तम्र, खालिङ बंशबृक्ष काठमाडौ
• खालिङ जङगबहादुर , २०७३ किरात पज्ञ,किरात राई प्रज्ञा परिषद, काठमाण्डौ , दोश्रो संस्करण
• खालिङ बुद्धिकिरण, २०६२, ख्यल तम्र
•Rai, Janga Bahadur 2018, Nyagi Ritual of Khaling Rai Community: Anthropological Study of Nyagi Ritual of Khaling Rai Community in Mapya Dudhakosi RM. Solukhumbu. ( Unpublished An MA Thesis RR Campus)
•Rai, Taramani. (2015). A Sociolinguistic Survey of Khaling: A Tibato-Burman Lanuage. (Submmited to Linguistic Survey of Nepal, CDL Tirivuwan University)
•McDougal, C. (1979). TheKulungeRai; A Study in Kinship and Marriage Exchange. Kathmandu,Nepal: RatnaPustak Bandar. pp.61-65.
•Whelpton, J. (2005). A History of Nepal. New York: Cambrige University Press. pp.12- 15.
नोट:
१ गेल्जोङ्म्या : माप्यको दोश्रो श्रीमति । पाङमुचेमा चौरी चढाउने भोटबाशी महिलालाई विबहा गरेकी थिइन । उनलाई अझै पुज्ने चलन छ । तर माप्यको पहिलो श्रीमति आम्फूलाप्चा भन्ज्याङ तर्ने बेला छोडिएका थिइन र पछि माप्यले हुङ्गु खोला पछ्याउदै गएर भेटेर ल्याई पुन बुबुसामा बस्ति बसाले ।
२ बुबुसा : ज्य बुक्दे (अन्न जन्मिने उत्पादन गर्ने ठाउँ)
३ राङली : यो आधा बाटोमा वा दोबाटोमा छोडिएको आत्म हो । यस्लाई पितृको रुपमा मान्दैन । यसले कहिलेकाही मान्छेलाइ मिरामी पनि बनाउछ तर पितृ भन्नाले पाङमुचे वा दुधकुण्डो पाठाइन्छ र उनीहरुलाई बुज्वा (विधि) वा सकेलामा बोलइन्छ जस्ले बर्दान दिन्छ ।
४ द्वास्नङ वंशको मुन्दुमी नाम हो ।यो व्यक्ति वा बंशको विशेष्ता आनुसार नाम लाईदिने चलन छ । द्वस्नङ विना कुनै पनि मुन्दुमी कार्य हुदैन । जस्तै विवाह, न्यगी, वास, मृत्यु संस्कार आदि ।
(लेखक संस्कृति तथा इतिहास अध्येता हुन् ।)
प्रकाशित मिति : सोमबार, २४ कार्तिक २०७७ १९:१६

Archives

प्रतिक्रिया दिनुहोस्