Logo

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक हो’ मन्त्री भट्टराईले भन्नुभयो ‘यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धि शिक्षा आजको अवश्यकता हो ।’

मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि वर्षेनी हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा विश्वको १४ बटा हिमाल मध्ये आठ हजार माथिका ८ बटा नेपालमा रहेको बताउदै हिमाल आरोहण गर्नका लागि वर्षेनी हजारौ मानिस हिमाल चढन विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन बिषय अध्यापन शुरु गरेको बताउनुभयो ।  नारायणी मावि पर्यटन तथा पर्वतारोहण बिषय पठाई गर्ने पहिलो विद्यालय भएको समेत उहाँले बताउनुभयो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच कक्षा ११ र १२ मा यो विषयको अध्यापनका लागि शनिबार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरु हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

प्रकाशित मिति : मंगलवार, २५ कार्तिक २०७७ १९:५३
प्रतिक्रिया दिनुहोस्