गोक्योमा निर्मित ‘हाम्रो साझा हिमाल’को म्युजिक भिडियोले नयाँ विश्व रेकर्ड कायम

काठमाडौं । गायक पूर्ण राईको आजावमा रहेको ‘हाम्रो साझा हिमाल’ गीतको म्यूजिक भिडियोले नयाँ विश्व रेकर्ड कायम गरेको छ । सबैभन्दा अग्लो स्थानमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोले गीनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको हो ।
नेपालको पर्यटकीय गन्तव्य सोलुखुम्बुको गोक्यो (४७६८ मि.) मा गत २०७६ असोज १० गते उक्त म्युजिक भिडियोको छायांकन गरिएको थियो । अहिलेसम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेकोले यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले प्रमाणित गरेको छ । म्युजिक भिडियो भिडियो सबैभन्दा अग्लो स्थानमा मात्रै नभएर एकै स्थानबाट क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको हो ।
उक्त म्यजिक भिडियो निर्माणको टिममा गायक राईसँगै चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी र पुष्कर नेपाल रहेका छन् । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्नेलगायतको भाव प्रस्तुत भएको छ ।
विगत लामो समयदेखि नेपाली चलचित्र तथा कलाकारीता क्षेत्रमा लागिरहेको यो टिमले पाएको सफलता सम्पूर्ण नेपाल र नेपालीहरुका लागि एउटा गौरवको विषय बनेको छ । गिनिज वल्र्ड रेकर्डबाट प्राप्त प्रमाणपत्र केही दिनपछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने आयोजक पिम नेपालले जनाएको छ ।