Logo

मातृभूमिको नाम संसोधन गरेर राप्छाभूमि विकास क्लब राखियो, २३ सदस्यीय नयाँ कार्यसमिति चयन


राप्छा, सोलुखुम्बु । मातृभूमि सुधार संघको नाम संसोधन गरेर राप्छाभूमि विकास क्लब राख्ने निर्णय गरिएको छ । शनिबार माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ को केन्द्र केतमा सम्पन्न संघको ऐतिहासिक साधारण सभाबाट समयसापेक्ष सबैको अपनत्व ग्रहण गराउने भन्दै नाम परिमार्जन गरेर राप्छाभूमि विकास क्लब निर्माण गरिएको हो । यसअघि राप्छा विकास समिति, एभर ग्रीन यूथ गु्रप र न्यू स्टार यूथ गु्रपलाई मातृभूमि सुधार संघमा मर्ज गरेर एउटै संस्था बनाइएको थियो ।

साधारण सभाले संस्थाको नाम परिमार्जनसँगै स्थानीय बुद्धिजिवी तथा पत्रकार प्रकाश खालिङको संयोजकत्वमा गठित विधान मस्यौदा निर्माण समितिले तयार पारेको नयाँ विधानसमेत सर्वसम्मतले अनुमोदन गर्दै सोहीअनुरुप दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

साधारण सभाले नयाँ विधानअनुरुप २३ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा प्रदिप राई, महिला उपाध्यक्षमा चन्द्रकला राई, उपाध्यक्षहरुमा अजय किराती, मनोज राई र भीमकुमार मगरलाई चयन गरेको छ । त्यस्तै महासचिवमा कृष्णकिरण राई, त्यस्तै सचिवमा सुमन राई, श्यामकुमार राई र विराज रजान मगर रहनुभएको छ भने कोषाध्यक्षमा फाम्बी राई र सहकोषाध्यक्षमा मेलिना राई रहनुभएको छ । सदस्यहरुमा चतुरमान राई, विकास राई, सरिता राई, जसबहादुर राई, सन्तोष राई, राजन विक, रबी राई, नारायण राजभण्डारी, जनपुरी राई, सौमाया राई, मनिता राई र भीमकला राई चयन हुनुभएको छ ।

माप्य दुधकोशी गाउँपालिका प्रवक्तासमेत रहनुभएका वडा नम्बर २ का अध्यक्ष तेजबहादुर थापा मगरको संयोजकत्वमा प्रकाश खालिङ, आनन्द कुमार राई, आसबरी राई, कुमार राई, मानबहादुर राई, चन्द्र बहादुर राई, प्रश्नबीर राई र गणेश बहादुर राई सदस्य रहेको नौ सदस्यीय निर्वाचन मण्डलले अघि बढाएको नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रियाअनुरुप उम्मेद्धारको मनोनयन दर्तामा अध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत भएपनि त्यसबाहेक सबै पदका लागि उम्मेद्धारी संख्या बढि भएको थियो ।

तीन उपाध्यक्षको लागि ४ जनाको उम्मेद्धारी परेको थियो भने १ जना महासचिवको लागि दुई जनाको उम्मेद्धारी परेको थियो । त्यस्तै ३ जना सचिव पदको लागि ६ जना, १ जना कोषाध्यक्षको लागि दुई जना, १ जना सहकोषाध्यक्षको लागि ३ जनाको उम्मेद्धारी परेको थियो भने १२ जना सदस्य पदका लागि २७ जनाको उम्मेद्धारी परेको थियो । जसमा अधिकांश पदमा आपसी समझदारीको आधारमा फिर्ता गरिएको थियो भने कतिपयमा चिठ्ठामार्फत सर्वसम्मत गरिएको थियो । साधारण सभाको बन्द सत्रमा वडा नम्बर २ भित्र रहेका डेढ दर्जनभन्दा बढि संस्थाहरुबाट करिब ८० जना र आयोजक गरी करिब एक सय जनाको प्रतिनिधित्व रहेको थियो ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरको विशेष आतिथ्यता साधारण सभा आयोजक कमिटी संयोजक प्रदिप राईको सभापतित्वमा साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले राज्यले अघि बढाएको विकास र सम्बृद्धिको मोडेललाई सार्थकता तुल्याउन सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले क्लबले सामाजिक विकासका साथै गाउँपालिकाले वडा नम्बर २ को लागि बनाएको योजना तथा कार्यक्रमको अझ ठोस खाँका तयार गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अब जुनसुकै कार्यक्रमहरुमा गाउँपालिकाको तर्फबाट क्लबसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सोही अवसरमा अध्यक्ष राईले क्लबको उन्नति र प्रगतिको कामना गर्दै प्रारम्भिक सहयोगस्वरुप भन्दै अध्यक्ष र उपाध्यक्ष कोषबाट डेढ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणासमेत गर्नुभयो । त्यस्तै उहाँले क्लबलाई खेलकुद सामाग्रीसमेत हस्तान्तरण गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष जुनिता माया मगरले क्लबलाई समयसापेक्ष थप व्यवस्थित रुपमा अघि बढाउन आग्रह गर्दै अब बन्न क्लब सबै क्षेत्र, जातिभाषा, लिङ्गको अपनत्व र उपस्थिति हुने वातावरण निर्माण गर्न सुझाव दिनुभयो । उहाँले गाउँपालिकाले अघि बढाएको बजेट तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय संस्था अति आवश्यक रहने उल्लेख गर्दै त्यो भूमिका अब क्लबले खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष तेजबहादुर थापा मगरले सिंगो वडाको प्रतिनिधित्व हुनेगरी संस्थालाई विस्तार गर्नुपर्ने आवश्यकता क्लबले पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्लबले अघि बढाएको हरेक गतिविधिमा वडामार्फत सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बुद्धिजिवी तथा सोलुखुम्बु काठमाडौं पत्रकार समाजका अध्यक्ष प्रकाश खालिङले क्लबमार्फत पूर्खाहरुको विरासतलाई दस्तावेजीकरण गर्दै नयाँ सम्भावनाहरुको खोजी गर्नुपर्ने बताउनुभयो । क्लबलाई अब कुनै क्षेत्र विशेष र कुनै व्यक्ति विशेषको पेवाजस्तो मात्रै नबनाउन आग्रह गर्दै हस्तान्तरण र पुस्तान्तरणका लागि विधिपद्धतिसम्मत अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । क्लबमार्फत यूवा वर्गलक्षित प्रभावकारी कार्यक्रमहरु अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा गाउँपालिकाकी कार्यपालिका सदस्य आसबरी राई, वडा सदस्य चन्द्रबहादुर राई र जोरबीर राई, बासाखाली माविका का.प्रअ मानबहादुर राई, एमआइसीका पूर्व अध्यक्ष कुमार राई, राप्छा वास विकास कोषका अध्यक्ष आनन्द कुमार राई, यूवा नेता मनोज राई, किरात खालिङ राई उत्थान संघ राप्छाका पूर्व अध्यक्ष गणेश बहादुर राई, खाली माविका पूर्व विव्यस अध्यक्ष प्रश्नबीर राई, चन्द्रोद्धय आविका विव्यस अध्यक्ष नौबीर राई, माप्य दुधकोशी गाउँपालिका स्वास्थ्य ईन्चार्ज जितेन्द्र कुमार यादब, गाउँपालिका पञ्जीकरण शाखा प्रमुख चन्द्रकला राई, अँधेरीखोला लघु जलविद्युत प्रणालीका अध्यक्ष चतुरमान राई, राप्छा बन उपभोक्ता समितिका अध्यक्ष नौबहादुर राई, अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष नरमाया राई, नेपाल मगर संघ वडा नम्बर २ का पूर्व अध्यक्ष विराज रजान मगरलगायतको आतिथ्यता रहेको थियो ।

क्लबका नवनिर्वाचित अध्यक्ष प्रदिप राईले अग्रजहरुसँगको सल्लाहबमोजिम क्बललाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले विभिन्न विभाग तथा उपसमितिहरु गठन गरेर सबैको कार्यविभाजन गर्ने र त्यसैको माध्यमबाट आगामी वर्षको कार्यक्रम तय गर्ने योजनासमेत सुनाउनुभयो ।

प्रकाशित मिति : सोमबार, २९ मंसिर २०७७ १६:२७

Archives

प्रतिक्रिया दिनुहोस्