ओलीको असंवैधानिक कदमविरुद्ध सल्लेरीमा विशाल जुलुस, ओलीको जयजयकार गर्नेहरुलाई ‘फेस टु फेस’ आउन केन्द्रीय सदस्य राईको चुनौति

सोलुखुम्बु, १४ पुस २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सदरमुकाम सल्लेरीमा विशाल ¥याली तथा विरोध प्रदर्शन गरेको छ । संविधान माथि प्रहार गर्ने ओलीको दुस्प्रयास कुनैपनि हालतमा क्षम्य नहुने भन्दै नेकपाका नेता तथा कार्यकर्ता सडकमा उत्रीएका हुन ।
संयौको उपस्थितिबीच मंगलबार आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहनुभएका जिल्ला ईन्चार्ज तथा संघीय सांसद हेमकुमार राई (सुरबीर)ले ओलीको जयजयकार गर्नेहरुलाई फेस टु फेस बहसमा आउन चुनौति दिनुभयो । ओली समुहसंविधान र लोकतन्त्र मास्नका लागि अनेक तिकडम र सड्यन्त्र गर्दै कुप्रचारमा लागिरहेको उल्लेख गर्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्ने तागत आफुहरुसँग रहेको दाबीसमेत गर्नुभयो ।
संविधानत संसदप्रति उत्तरदायी हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्टै संवैधानिक संकट निम्त्याएर सर्वसत्ताबाद, अलोकतान्त्रिक तथा विधिको शासन मास्नेगरी गरेको दुस्प्रयास कुनैपनि हालतमा सफल नहुने तर्क उहाँको थियो । नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई मास्ने ओलीको प्रतिगमनकारी काम कसैलाई सह्य नहुने भनाइ उहाँको थियो ।
बेतुकको तर्क गर्दै पद खोज्दै ओलीको जयजयकार गर्नेहरुलाई होसियार रहन चेतावनीसमेत उहाँले दिनुभयो । नेकपाको सबै तहमा बहुमतबाट पारित गरेर पार्टीको कामहरु अघि बढाइएकोले आधिकारिक नेकपा आफूहरू भएको दाबी गर्दै आम नेता तथा कार्यकर्ताहरू बिचलित नहुन आग्रहसमेत गर्नुभयो ।
बिरोध कार्यक्रममा बोल्दै नेकपा प्रदेश नम्बर १ का सदस्य तथा पार्टी प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी (ख)का ईन्चार्ज आङङिमा लामाले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको असंवैधानिक कदमको भत्र्सना गर्दै उनीहरु तुरुन्तै नसच्चिए ठूलो मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिनुभयो ।
जुलुसमा सहभागिहरुले केपी ओलीको संसद बिघटन गर्ने असंवैधानिक निर्णयको कडा प्रतिवाद गरेका छन् । सल्लेरीदेखि फाप्लुसम्म मोटरसाईकल र्याली गरेपछि जुलुसले नयाँ बजार परिक्रमा गरेको थियो । जुलुस जिबिस सभा हल अगाडि आइपुगेपछि कोणसभा परिणत गरिएको थियो । उक्त कोणसभालाई नेकपा केन्द्र, प्रदेश तथा जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।
सोही क्रममा सांकेतिक रुपमा ओलीको पुत्ला जलाउनुका साथै उनको नाममा शंका पनि बजाइएको थियो ।
कोणसभा सकिएपछि जिविस हलमा नेकपाको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
उक्त भेलाले प्रदेश कमिटी सदस्य आङङिमा लामाको संयोजकत्वमा ५०१ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको छ । उक्त संघर्ष समितिको सहसंयोजकमा पार्टी जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ), संघर्ष समितिको सचिवमा प्रदेश कमिटी सदस्य धु्रव पराजुली र प्रवक्तामा जिल्ला पार्टी कार्यालय सदस्य हिमाल गिरी रहनुभएको छ भने संघर्ष समितिमा प्रदेश कमिटी सदस्य सबै, प्रदेश सल्लाहकार सदस्य सबै, प्रदेश प्ररिषद सदस्य सबै, जिल्ला कमिटी पदाधिकारी तथा सचिवालय सदस्य सबै, जननिर्वाचित गाउँपालिका प्रमुख सबै, जनबर्गी संगठन केन्द्रीय तथा जिल्ला अध्यक्षहरु, गाउँपालिका पार्टी अध्यक्षहरुलगायत रहने छन् ।
त्यसैगरी जिल्लाभरी प्रभावकारी प्रशिक्षण कार्यक्रम सञ्चालनको लागि पार्टी केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर)को संयोजकत्वमा छुट्टै टिम बनाइएको छ । भेलाले जिल्लाको आठै वटा स्थानीय तहहरुमा २५ गतेभित्र संघर्ष समिति गठन गर्नेलगायतको निर्णयसमेत गरेको छ ।