Logo

इन्टरनेट सेवाप्रदायकबीच चर्को प्रतिस्पर्धा, कुन कम्पनीको इन्टरनेट शुल्क सस्तो ?


नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको संङ्ख्या ठूलो छ । च्याउ सरी नै इन्टरनेट सेवाप्रदायकले अनुमति लिएका छन् । इन्टरनेट सेवाप्रदायकहरुको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघभित्रै पनि सेवाप्रदायकहरु धेरै भएको बहस उठ्ने गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको गत असोज महिनासम्मको तथ्याङ्क हेर्दा एक सय २५ भन्दा बढी इन्टरनेट सेवाप्रदायक कम्पनीले लाइसेन्स लिइसकेका छन् । तर, एक दर्जन कम्पनीले मात्रै सक्रिय रुपमा सेवाविस्तार गरिरहेका छन् ।

नेपालमा ग्राहकहरुको इन्टरनेट सेवाप्रदायककाे छनोट भने शुल्ककै आधारमा हुने गरेको पाइन्छ । थुप्रै कम्पनी हुँदा कुन सेवाप्रदायकको सेवा राम्रो भन्ने बिषयमा पनि ग्राहकहरु अन्योलमा पर्ने गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका इन्टरनेट सेवा दिइरहेका सेवाप्रदायकले एक महिना,तीन महिना, ६ महिना र एक बर्षको इन्टरनेट प्याकेजहरु दिएका छन् तर कम्पनीपिच्छे नै शुल्क फरक छ । खासगरी सेवाप्रदायकले दिइरहेको सेवामा कम इन्टरनेट क्षमताको एक बर्षे प्याकेज नै ग्राहकलाई सस्तो पर्न आउछ ।

पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकणबाट इन्टरनेट सेवाप्रदायकको लाइसेन्स लिएर त्यसैमा आईपीटिभि समेतको सेवा उपलब्ध गराइरहेका छन् । बिशेषगरी वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, प्रभु टिभि, नेपाल टेलिकमले यस्तो सेवा दिइरहेका छन ।

केबलको झन्झट नहुने र मोबाइल मार्फतपनि टिभि च्यानलहरु हेर्न पाइने भएपनि ग्राहकहरुको आकर्षण पनि यसमा नै छ । सेवाप्रदायकले भने नेट प्लस आईपी टिभिको छुट्टै मुल्य समेत कायम गर्ने गरेका छन् । त्यसैगरी, इनटरनेट सेवाप्रदायकले उपलब्ध गराउने इन्टरनेटको क्षमता पनि फरक फरक हुने गरेको छ । बिशेषगरी नेपालमा लोकप्रिय इन्टरनेट सेवाप्रदायकहरुमा वल्र्डलिङ्क, भायानेट, क्लासिकटेक, टेलिकम, सुबिसु, वेबसर्फर, टेकमाइन्डस लगायत नै छन् ।

यस्ता छन इन्टरनेट सेवाप्रदायकको मूल्य र सेवा

वर्ल्डलिङ्क

नेपालको फाइबर टु दी होम(एफटीटीएच) इन्टरनेट ग्राहकको ५० प्रतिशत भन्दा बढी वल्र्डलिङक कै छ । सेवा विस्तारमा समेत आक्रामक रहेको वर्ल्डलिङ्कले ३० एमबीपीएस गतिको इन्टरनेट बार्षिक १५ हजारमा उपलब्ध गराउँदै आएको छ । जसमा सेफनेट, वाइफाइ मोबिलिटी, नेट टिभि लगायतका सेवा छन् ।

खासगरी वल्र्डलिङकले २५ एमबीपीएस, ४० एमबीपीएस, ६० एमबीपीएस गतिको इन्टरनेट प्याकेजहरु दिँदै आएको छ । कम्पनीले ४० एमबीपीएस, ६० एमबीपीएस गतिमा समेत विभिन्न प्याकेजमा इन्टरनेट सेवा दिँदै आएको छ । १२ महिनाको प्याकेजमा जडान निःशुल्क गरिएको छ । कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

सुबिसु

सुबिसु बिशेषगरी टेलिभिजन र इन्टरनेटको लागि लोकप्रिय छ । अहिले सुबिसुले २० एमबीपीएस स्पिडको इन्टरनेटको लागि बार्षिक १३ हजार रुपैयाँ तिर्नुपर्छ । सबिसुले ३५ एमबीपीएस, ४५ एमबीपीएस गतिको इन्टरनेटसमेत विभिन्न प्याकेज तथा दररेटमा उपलब्ध गराएको छ । कम्पनीको प्याकेज सम्बन्धी जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाल टेलिकम

नेपाल टेलिकम पछिल्लो समय एफटीटीएच बिस्तारमा आक्रामक बनेको छ । एडिएसएलका ग्राहकलाई समेत एफटीटीएच सेवामा रुपान्तरण गर्दै आइरहेको छ । खासगरी टेलिकमले १५ एमबीपीएस गतिको इन्टरनेट १२ हजार रुपैयाँमै बार्षिकरुपमा सेवा दिइरहेको छ ।

एक बर्ष भनेपनि टेलिकमको इन्टरनेट सेवामा १४ महिनासम्म प्रयोग गर्न सकिन्छ । १५ एमबीपीएसको इन्टरनेट बर्षभरका लागि लिँदा मासिक ८ सय ५७ रुपैयाँ पर्ने आउँछ । टेलिकमले २० एमबीपीएस र ५० एमबीपीएस गतिका इन्टरनेटपनि उपलब्ध गराएको छ । कम्पनीको प्याकेजसम्बन्धी जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।
भायानेट
भायानेटको बार्षिक प्याकेज अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट १४ हजार ४ सय रुपैयाँ तोकेको छ । यस प्याकेजमा सर्भिस इस्योरेन्स, नेट टीभी पाउन सकिन्छ । कम्पनीले ४०, ४५ र ६० एमबीपीएस गतिको इन्टरनेट समेत विभिन्न प्याकेजको रुपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको प्याकेजको बारेमा थप जानकारकिो लागि यहाँ क्लिक गर्नुहोस् ।

क्लासिक टेक
क्लासिक टेक पछिल्लोसमय इन्टरनेट ग्राहक थप्नेमा आक्रामक सेवाप्रदायकको रुपमा रहेको छ । बिशेषगरी क्लासिक टेकले बार्षिक रुपमा ३० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४ हजार ४ सय रुपैयाँमा उपलब्ध गराएको छ । जसमा क्लासिक प्रभु टीभी निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ ।कम्पनीले ४० एमबीपीएस र ६० एमबीपीएस गतिका अन्य विभिन्न प्याकेज समेत दिइरहेको छ । कम्पनीको प्याकेजको बारेमा जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

वेबसर्फर
वेबसर्फरले नेपालमा बार्षिक रुपमा ३० एमबीपीएस गतिको एक वर्षे इन्टरनेट प्याकेजका लागि १३ हजार ९९८ रुपैयाँमा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले ४०, ६० र ८० एमबीपीएस गतिमा समेत विभिन्न अफर तथा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीको प्याकेजको बारेमा विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : मंगलवार, २१ पुष २०७७ १७:३८

Archives

प्रतिक्रिया दिनुहोस्