Logo

ठमेल खुलेपनि ब्यापारिक लाभ सुन्य, घरधनी र व्यवसायीको समझदारीमा व्यवसाय चलाउन सकिने धारणा !


काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण ठप्प जस्तै रहेको ठमेल क्षेत्रको दिवाकालीन व्यवसाय सञ्चालनमा आएपनि व्यापारिक लाभ लिन नसकेको ब्यबसायीहरुले बताएका छन् । बिहीवार ठमेल पर्यटन बिकास परिषद्ले ठमेल क्षेत्रको समसामयिक विषयमा आयोजना गरेको छलफलमा बोल्ने ब्यबसायीहरुले सो कुरा बताएका हुन् । केही बक्ताहरुले भने घरधनी र व्यवसायीको आपसी समझदारी, भौतिक तथा स्वास्थ्य सुरक्षाका लागि मजवुत संयन्त्र निर्माण गरेर व्यवसाय चलाउन सकिने धारणा राखेका छन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले आपसी समझदारीमा दिवा व्यवसायलाई क्रमशः विस्तार गर्दै रातको ११ बजेसम्म व्यवसाय सञ्चालनका लागि वातावरण बन्दै गएको बताउनुभयो । ‘सरकारले दिएन भनेर गुनासो गरेसँगै व्यवसायीले पालना गर्नुपर्ने व्यवसायिक धर्मका विषयमा पनि मनन गरौं’, उहाँले भन्नुभयो ‘ठमेलका होटलमा बस्न आउने पाहुना र घरधनी ढुक्कसँग सुत्न पाउँछन् ? लाइभ व्याण्ड र गीतसंगीतसँग सम्बन्धित रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीले उत्तर दिनुपर्छ । सडकमा अबैध यौन गतिबिधि भयो भनेर गुनासो गर्दै गर्दा कुन ठाउँ र समयमा यस्ता धन्धा भएका छन् । सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छ । जहाँसम्म रातभर ठमेल खोल्ने माग छ । यसका लागि जिल्लाहुँदै केन्द्रीय विपद् संकट व्यवस्थापन केन्द्रसम्म छलफल चलाउनु पर्छ ।’

ठमेलमा व्यवसायी र घरधनीका आफ्ना-आफ्नै गुनासा र समस्या छन् । छुट्टा—छुट्टै सुन्दा कुरा सबैका जायज लाग्छन् । तर, दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदैन । कार्यक्रममा वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो — ‘ठमेलका सडकमा अमर्यादित गतिबिधि भएको खवरले नकारात्मक सन्देश गएको छ । यसलाई वैकल्पिक पेशा र व्यवसायको सिर्जना गरेर समाधान गर्ने दिशामा महानगरको सोच छ । जहाँसम्म व्यवसाय निरन्तरताको कुरा छ । यसका लागि प्रचलित मापदण्डको पालना गर्ने गरी अघि बढ्न घरधनी र व्यवसायीको एउटै मत हुनुपर्छ । यहाँका सबैका आफ्ना—आफ्नै स्वार्थ भएर पो समस्या भयो । वहालका विषयमा भोलि सिर्जना हुने सम्भावित विवाद अहिले नै समाधान गरौं ।’

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ । यो कतिञ्जेल सहने? त्यसैले यसलाई क्रमशः खोल्दै लानु पर्छ भन्ने ठमेल पर्यटन विकास परिषद्को सरकारसँग माग हो । परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा भन्नुहुन्छ – ‘यो माग सरकारसँग पुर्‍याउन महानगरले सहजीकरण गरिदिनुपर्छ ।’

परिषद्की उपाध्यक्ष गीता गुरुङले ठमेलमा दैनिक ज्यालादारी गरेर खानेदेखि तारे होटल चलाउने सबैमा समस्या चुलिँदै गएको भन्दै यसको समस्या समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

परिषद्का उपाध्यक्ष भविश्वर शर्माका अनुसार ठमेलमा साना साना चिया पसलदेखि ५ तारे होटलसम्मका सुबिधा छन् । यस क्षेत्रमा करीब १० हजार व्यवसायी र २ हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक ३० देखि ३५ करोड रुपैयाँसम्म र अफसिजनमा १८ देखि २० करोड रुपैयाँसम्म कारोवार गर्ने गरेको थियो । अहिले त्यो कारोबार शुन्य छ । शर्मा भन्नुहुन्छ – ‘व्यवसायी व्यापार घाटा सहन नसक्ने अवस्थामा पुगेर तुरुन्त व्यवसाय खोल्नुपर्ने अवस्थामा पुगेका छन् । व्यवसायबाट आम्दानी छैन । बैङ्कले ऋण दिँदैन । दिए पनि कसरी तिर्ने ?’

छलफलका सहभागीहरुले अहिले पार्टी प्यालेस, सार्वजनिक यातायात, काठमाडौंकै नयाँ सडक र इन्द्रचोक सबै खुलिसकेको अवस्थामा ठमेल मात्र किन बन्द ? भन्ने प्रश्न गरे । रात्रीकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड उनिहरुको थियो ।

छलफलमा सहभागी घरधनीहरुले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लिल गतिबिधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : बिहीबार, २३ पुष २०७७ २२:४०

Archives

प्रतिक्रिया दिनुहोस्