Logo

प्याल्ट्रिक्सेट र सोलार बत्तिबाट छुटकारा पाउँदै काँकुबासी, ७० किलोवाटको लघु जलविद्युत निर्माणको काम धमाधम


सोलुखुम्बु । अहिलेसम्म प्याल्ट्रिक्सेट र सोलार बत्तिको भरमा चलिरहेको सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ र ५ काँकुमा लघु जलविद्युत आयोजना बन्दैछ । काँकु क्षेत्रको विद्युत विस्तारका लागि काँकु भुंगरा खोला लघु जलविद्युत नामक ७० किलोवाट क्षमताको आयोजना अघि बढाइएको हो ।

कादुरी एग्रीकल्चर एड एसोसिएसन, ब्रिटिस गोर्खाज नेपाल परियोजना (केएए बीजीएन)ले ४ करोड ६० लाख रुपैयाँ लगानीमा सो आयोजना अघि बढाएको हो । परियोजनामा स्थानीयको श्रमदानबाट पोल गाड्नेलगायतको काम गरिने छ ।

माप्य दुधकोशी गाउँपालिका र वडाको स्वीकृतिपछि कादुरीका प्रमुखको टोलीले आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेपछि गत २०७७ मंसिर १४ गतेबाट औपचारिक रुपमा काम सुरुवात गरिएको थियो ।

लघु जलविद्युत आयोजना सुरु भएको ६ महिना अवधिभित्र आयोजना पूरा गर्नेगरी काम अघि बढाइएको र अहिलेसम्म करिब ५० प्रतिशत काम सकिसकेको आयोजनाका सचिव महेश राईले जानकारी दिनुभयो । उहाँकाअनुसार यस आयोजनाबाट देफ्कु, बाबरर्ख, वोरउ, ओदु, कोफु, घे्रनफु, गैरीगाउँ, सरिमा (सुरिम्य), रोक्फुल, थालख्वाम्, भगरे, बोब्दु, मुलखर्क, बंगुरफर्म, कागतेको ३६० घर धुरी लाभान्वित हुनेछन् ।

बुर्दम र काँकुखोलाको पानी मिसाएर बनाइने आयोजनाको विद्युतगृह कोफु, बाबरर्ख र ओदुको दोभानमा रहनेछ । कादुरीको तर्फबाट सुपरभाइजर लिालाराज राईको नेतृत्वमा ९ जना दक्ष जनशक्तिमार्फत काम भइरहेको छ ।

उक्त लघुजलविद्युत आयोजना उपभोक्ता समितिको अध्यक्षमा डिकश्वर राई, उपाध्यक्षमा भैबहादुर राई, सचिवमा महेश राई र कोषाध्यक्षमा शर्मिला राई रहनुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, २४ पुष २०७७ १७:०४

Archives

प्रतिक्रिया दिनुहोस्