Logo

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा


आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।

जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। जोशीले राजीनामा दिएसँगै अख्तियारमा अब एक पद रिक्त भएको छ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए। त्यतिबेला जोशी अख्तियारमा आयुक्त थिए।

बुधबार बिहान नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तमा सिफारिस भएका जयबहादुर चन्द र कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै राई, चन्द र सिलवालले टंगालस्थित अख्तियारको कार्यालय पुगेर पदभार सम्हालेका छन्। राईले पदभार गरेको समयमा कार्यवाहक आयुक्त जोशी सहभागी समेत भएनन्।

प्रकाशित मिति : बुधबार, २१ माघ २०७७ १६:२१

Archives

प्रतिक्रिया दिनुहोस्