Logo

तल्लो सोलुको पर्यटन प्रवद्र्धनार्थ सरकारले छान्यो पत्ताले र सुकेपोखरीलाई, लागत साझेदारीमा बजेटको व्यवस्था


सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले सोलुखुम्बुको पत्ताले र सुकेपोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ ।

मन्त्रालयले लागत साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले डाँडाँमा पार्क निर्माण शिर्षकमा र थुलुङ दुधकोशी गाउँपालिकाको सुकेपोखरी क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण शिर्षकमा बजेट व्यवस्था गरेको हो ।

गत माघ २९ गतेको मन्त्रालयको निर्णयअनुसार देशभर २ सय पर्यटन आयोजना छनौट हुँदा सोलुखुम्बुको दुई वटा गन्तव्य छनोटमा परेको हो ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारीको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तरगत सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले पार्क निर्माण आयोजनाका लागि सात करोड रकम अनुमान गरिएको छ ।

जसमा पर्यटन मन्त्रालयले चार करोड ५५ लाख र सोलुदुधकुण्ड नगरपालिकाले दुई करोड ४५ लाखको लागत साझेदारी गर्नेछन् । ३ बर्षमा सम्पन्न हुने यस आयोजनावाट नगर क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको विश्वास छ ।

यस्तै मन्त्रालयले सोलुखुम्बुकै थुलुङ दुधकोशी गाउँपालिकाको सुकेपोखरी पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि चार करोड रकम खर्च गर्नेछ । जसमा मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले एक करोड २० लाख रकमको लागत साझेदारी गर्नेछन् ।

२ बर्षमा सम्पन्न हुने यस आयोजनाले ऐतिहासिक, साँस्कृतिक, पवित्र, पुरातात्विक रमणीय क्षेत्र सुकेपोखरीको मुहार फेरिने मात्र नभई पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।थुलुङ दुधकोशी गाउँपालीकाको ४, ५ र ९ नम्बर  वडाको मुख्य  क्षेत्रमा पर्ने सुकेपोखरीमा आन्तरिक तथा वाह्य पर्यटन प्रर्बधन गर्ने उदेश्य  रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

पर्यटन मन्त्रालयका अनुसार प्रदेश १ मा ५५ पर्यटन आयोजना छनौट भएका छन् । सरकारले गत साउन २६ गते पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यसहित संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सञ्चालन गर्नसक्ने आयोजनाका लागि निर्देशिका स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : सोमबार, ३ फाल्गुन २०७७ १९:१८

Archives

प्रतिक्रिया दिनुहोस्