Logo

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी


काठमाण्डौ – वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ ।

सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाउनुभएको छ ।

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा आउनेछ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले वाग्मतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ ।

२२ बर्षको अन्तरालमा अवधिमा १९ प्रधानमन्त्री, २५ मन्त्री फेरिएका छन् । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने सपना बाँड्नु भएको थियो । सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम सुरु गरेको थियो । त्यस यताका २२ वर्षमा देशमा १९ प्रधानमन्त्री फेरिएका छन् र २५ मन्त्री फेरिएका छन् ।

प्रकाशित मिति : शनिबार, २२ फाल्गुन २०७७ २१:१९

Archives

प्रतिक्रिया दिनुहोस्