Logo

अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी भइरहेको छः पर्यटनमन्त्री ढकाल


संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटक निर्वाध रुपमा नेपाल भ्रमण गर्न पाउने भन्दै अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी भएको जानकारी दिएका छन्। शनिबार राजधानीमा आयोजित पाटाको साधारणसभालाई सम्बोधन गर्दै ढकालले यस विषयमा छिट्टै मन्त्रिपरिषदबाट सम्बोधन हुने बताए ।

पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै मन्त्री ढकालले यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।

यसअघि कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले नेपाल पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरुत्थान, प्रवद्र्धन र विकासका लागि सदैव प्रतिवद्ध रहेको बताएका थिए।
पाटा अध्यक्ष विभुती चन्द ठाकुरले वर्तमान समयमा नेपाली पर्यटन क्षेत्रको छिटो, सशक्त र जिम्मेवारपूर्ण पुनरोत्थानका लागि सरकारले तत्काल नयाँ कदम चाल्न बताएका थिए।
उनले अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिषा तथा पिसीआर चेकजाँचको व्यवस्था, कोभिड विरुद्धको खोप लगाएका यात्रुहरुको यात्रा सहजिकरण लगायतमा सरकारको ध्यानाकर्षण गरेका थिए।
कोभिड–१९ का कारण सिर्जित विषम् परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सेफ सन्तोष साहलाई पाटा पर्सनालिटि अफ द ईयर २०२० अवार्डबाट सम्मान गरेको छ।

सेफ साहले वेलायतको प्रतिस्ठित बिबिसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवम् आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवद्र्धन एवम् प्रमाणिकरण गर्न अतुलनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको पाटाले जनाएको छ।

कार्यक्रममा साहले नेपाललाई कोभिड–१९ पछिको परिवेषमा स्वास्थ्य सुरक्षा एवम् संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालको निजी तथा सार्वजनिक पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा सरोकारवालाहरुलाई खाद्य स्वच्छता एवम् गुणस्तरीय आवास सुनिश्चितता गरी प्रमुख दुईवटा पक्षमा विशेष जोडदिन अनुरोध गरे।

कार्यक्रममा पाटाले नेपाली पर्यटनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै अग्रज पर्यटनकर्मी, पूर्व पर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ।
यस्तै पाटाले पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई पहिलो पटक ‘टुरिजम ट्रेल ब्लेजर’ अवार्ड प्रदान गरेको छ। उनले प्रसान्त एशिया क्षेत्रको दिगो पर्यटन विकासका लागि लामो समयदेखि पाटाको सिइओको रुपमा निर्वाह गरेको असाधारण नेतृत्वदायी भूमिका एवम् प्रसंशनीय पहलका लागि पुर्‍याएको उल्लेखनीय योगदानको कदर र उच्च सम्मान गर्दै उक्त अवार्ड पदान गरेको पाटाले जानकारी दिएको छ।

यस्तै वर्ष २०२० को वेस्ट स्टुडेन्ट च्याप्टर अफ द ईयरको अवार्ड सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले पाएको छ।
पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड प्रदान गरेको हो।

प्रकाशित मिति : शनिबार, २२ फाल्गुन २०७७ २१:४६

Archives

प्रतिक्रिया दिनुहोस्