Logo

सोलुखुम्बुमा सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधी महाकुलुङ गाउँपालिकालाई


सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा आयोजित अन्तर गाउँपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी महाकुलुङ गाउँपालिकाले हात पारेको छ ।
सदरमुकाम सल्लेरीमा सम्पन्न प्रतियोगितामा माप्य दूधकोशी गाउँपालिकालाई हराउँदै महाकुलुङले सो उपाधि चुमेको हो । २५–१५, २५–२३, २४–२६ र २५–१४ अङ्कले हारेपछि माप्य दूधकोशी गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै, सोताङ गाउँपालिकाले २५–१६, २५–१६, २५–२६ र २५–११ अङ्कले सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुलाई हराउँदै तृतिय स्थान हासिल गरेको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जिल्लास्थित स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजना र सोलुदूधकुण्ड नगरपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार स्कुटर र्यालीलगायतको कार्यक्रमसमेत भएको थियो ।

आठ वटा गाउँपालिका रहेको सोलुखुम्बुमा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमशः पच्पन्न हजार ५५५ रुपियाँ, च्वालिस हजार ४४४ रुपियाँ, तेत्तिस हजार ३३३ र चौथौ हुने टिमले एघार हजार १११ रूपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी महाकुलुङ टिमबाट सुमित्रा कुलुङ, उत्कृष्ट स्पाइकरमा चाँदनी राई, सेटरमा मेलिना कुलुङ, डिफेन्डरमा अर्पणा राई, सर्भरमा सुस्मिका राई, ब्लकरमा संगीता राई घोषित भईन् । उत्कृष्ट पोशाकमा सागर वर्कशपको टिम र अनुशासित टिममा सोलुदूधकुण्ड नगरपालिका–९ र मार्च पासमा सागर वर्कशप चयन भयो ।

संस्थाका अध्यक्ष माया शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न समापन कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, उपमेयर कल्पना राईका साथै विभिन्न स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : सोमबार, २४ फाल्गुन २०७७ २२:४०

Archives

प्रतिक्रिया दिनुहोस्