Logo

विदेशमा सिकेको शीपले आफ्नै गाउँमा काष्ठ तथा कागज उद्योग स्थापना


खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।

पाँच जनाको रु पाँच/पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्ता मध्येका रविनकुमार राईले बताएका छन् ।

स्थानीय वन/जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ । काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ ।

विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।

उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् । माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिनुभयो । “पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताउनुभएको थियो । मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उहाँले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहनुभएको छ ।

यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल हुनुभएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् ।

रासस

 

प्रकाशित मिति : सोमबार, २ चैत्र २०७७ १४:४४

Archives

प्रतिक्रिया दिनुहोस्