Logo

दुबै मोहडाबाट सगरमाथा आरोहण गर्न सफल कल्पना महर्जनले यसरी लिइन् ‘वर्ल्ड रेकर्ड’को प्रमाणपत्र


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बतको मोहडा)बाट सफल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेकी पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरेको छ । बुधबार ललितपुर महानगरपालिकाले आयोजना गरेको एक विशेष समारोहबीच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हातबाट कल्पनाले सो प्रमाणपत्र ग्रहण गर्नुभएको हो ।

यूकेमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले विल्कुलै नयाँ एवं साहासिक काम गर्नेहरुलाई निश्चित मापदण्डको आधारमा प्रमाणपत्र प्रदान गर्ने गर्दछ । कल्पनाले सगरमाथाको दुईटै मोहडाबाट सफल आरोहण गरेर साहासिक काम गरेकोले नयाँ रेकर्ड कायम गरेको प्रमाणपत्र दिइएको वल्र्ड बुक अफ रेकर्डले जनाएको छ ।

प्रमाणपत्र प्रदान गर्दै पूर्व राष्ट्रपति डा. यादवले ललितपुरमा जन्मिएकी कल्पनाको यो साहासिक सफलताले ईच्छाशक्ति भए महिलाले पनि जस्तो सुकै काम गर्न सक्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले कल्पना अब सेलिबे्रटी भइसकेको हुनाले सामाजिक सेवाका साथै ग्लोबल वार्मिङका कारण विश्वलाई पारिरहेको असरबारे जनचेतना जगाउने अभियान गरेर त्यसको न्यूनिकरणलगायतका क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कल्पना ललितपुरको मात्रै नभएर सींगो देशकै एक उदाहरणीय पात्र बन्न सफल भएको चर्चा गर्नुभयो । कल्पनाको सगरमाथा आरोहण अभियानमा महानगरपालिकाले गरेको सहयोग र सहकार्य आज आएर सार्थकता पाएको भन्दै उहाँले आगामी दिनमा सामाजिक क्षेत्रमा पनि नयाँ आयम थप्ने काम गर्नको लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आफ्नो आरोहण यात्राको संक्षिप्त अनुभव सुनाउँदै आफ्नो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सगरमाथा आरोहण सफलतापछि अब आगामी दिनमा सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्ने उद्घोषसमेत उहाँले गर्नुभयो ।

पर्यटन व्यवसायी तथा कल्पना महर्जन सगरमाथा आरोहण अभियानका संयोजक रविन्द्र महर्जनले ‘शिक्षाको माध्यमबाट बालविवाह रोकथाम’ नाराका साथ सञ्चालन गरिएको सगरमाथा आरोहण अभियान सफल भएको भन्दै आगामी दिनमा पनि अन्य अभियानमार्फत नारालाई सार्थकता तुल्याउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

पर्यटन पत्रकारितामा आबद्ध हुने क्रममा कल्पनाले सन् २०१८ र २०१९ मा नेपाल र तिब्बतको दुबै मोहडाबाट सगरमाथा चढ्नुभएको हो । संयोगले नेपाली र अङ्ग्रेजी एउटै मितिमा उहाँले सगरमाथा आरोहण गर्नुभएको हो । दुवै वर्षको आरोहण अङ्ग्रेजी तारिख मे २३ थियो भने नेपाली मिति २०७५ र २०७६ को जेठ ९ नै परेको थियो । ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसरमा आरोही कल्पनाले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल हुनुभएको थियो ।

प्रकाशित मिति : बुधबार, ४ चैत्र २०७७ १८:५१

Archives

प्रतिक्रिया दिनुहोस्