Logo

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविर क्षेत्रमा !


काठमाडौं । आरोहण रुट पहिल्याउने आइसफल डाक्टर सगरमाथा आधार शिविर क्षेत्र लागेका छन् । सगरमाथा आरोहणका लागि बाटो बनाउने प्रयोजनका लागि ७ जनाको विशेषज्ञ टोली सो क्षेत्रमा पुगेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार यो टोलीमा पाल्देन नामगेल शेर्पा, आङ सार्की शेर्पा, मिग्मा तेम्बा शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, निग्मा वाङ्छु शेर्पा र फु छेतर शेर्पा रहेका छन् । उनीहरुलाई २ जना वेस क्याम्प सर्पोट स्टाफले साथ दिँदैछन् ।

त्यसक्रममा पूर्वाधार राख्ने काम समेत यसै चरणमा हुने गर्छ । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाग्ने काम समेत यसै बेला गरिन्छ । आइसफल डाक्टरले पहिल्याएको बाटो हुँदै आरोही चुचुरोतर्फ लम्किन्छन् । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण र महत्वपूर्ण समेत मानिन्छ । यस प्रयोजनका लागि अनुभवी र विशेषज्ञ आरोही खटिएका हुन्छन् ।

खुम्बु क्षेत्रमा खटिने टीमले तीन वटा हिमाल चढ्ने रुट पहिल्याउने काम गर्छ । सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १८:२७

Archives

प्रतिक्रिया दिनुहोस्