Logo

सांसद राईको पहलमा खुम्बु जोड्ने सडकका लागि ६० करोड विनियोजन, करोडौको खानेपानी र सिँचाईका लागि टेण्डर आह्वान


सोलुखुम्बु । संघीय सांसद हेमकुमार राई (सुरबीर)को पहलमा सोलुखुम्बु जिल्लाका ठूला परियोजनाहरुले धमाधम सार्थकता पाउँदैछन् । सांसद राईले सिफारिस र विशेष पहल गर्नुभएको सल्लेरी–सिलगुडीडाँडा–बासा–जुभिङ हुँदै सगरमाथा क्षेत्र खुम्बु पुग्ने सडक सञ्जाललाई सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जालमा राखेर बजेट विनियोजन गर्ने घोषणा गरेको छ ।

सरकारले १६५ वटा निर्वाचन क्षेत्रको रणनीतिक सडक सञ्जाल कार्यक्रमअन्तर्गत उक्त सडकका लागि ६० करोड रुपैयाँ रकम विनियोजन गरेको हो । उक्त सडक सञ्जालको पछिल्लो अवस्था बुझ्नका लागि अघिल्लो हप्तामात्रै सांसद राई सल्लेरी काँकु बासा जुभिङ हुँदै थामडाँडाँसम्मको स्थलगत अध्ययन अवलोकनमा पुग्नुभएको थियो । जबकी, उहाँकै नेतृत्वमा उक्त सडक सञ्जाललाई राष्ट्रिय लाइभ लाइनमा समेत जोड्न सफल भएको थियो ।

सांसद राईले खुम्बु क्षेत्र जिल्लाको मात्रै नभएर सिंगो मुलुककै अर्थतन्त्रको लागि मुख्य क्षेत्रको रुपमा रहेको कुरालाई दृष्टिगत गर्दै यसलाई निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जालमा समेटिएको बताउनुभयो ।

यसैबीच, उहाँकै पहलमा नेचा बेतघारी बतासे खानेपानी तथा सिँचाई लिफ्ट परियोजना र फाप्लु सल्लेरी दोर्पु खानेपानी जस्तो ठूलो परियोजनाको काम ठोस रुपमा अगाडि बढेको छ ।

नेचा–बेतघारी–बतासे खानेपानी तथा सिँचाई लिफ्ट परियोजनाका लागि ३६ करोड ८ लाख रुपैयाँ बराबरको र फाप्लु–सल्लेरी–दोर्पु खानेपानी आयोजनाको लागि १ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी टेण्डर आह्वानसमेत गरिएको छ । यी दुई परियोजनाको लागि सांसद राईले तत्कालिन खानेपानीमन्त्री विना मगर, सचिव तथा खानेपानी आयोजना कार्यालय खोटाङलगायत सम्बन्धित निकायमा विभिन्न चरणमा छलफल र पहल गर्नुभएको थियो ।

आफुले पहल गरेको जनतासँग प्रत्यक्ष जोडिएका संयौ कामहरुमध्ये पछिल्लो पटक विकासका ठूला परियोजनाहरुको लागि ठोस परिणाम ल्याउनेगरी काम सुरुवात भएको भन्दै सांसद राईले यी सबैकामहरु निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरी जनताले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो परिणाम निकाल्नका लागि सहयोग गर्ने सम्बन्धित सबैप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

(माथि समाचारमा १ करोड ४४ लाख रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्च्याइएको छ-सम्पादक)

प्रकाशित मिति : आईतवार, २२ चैत्र २०७७ १२:५१

Archives

प्रतिक्रिया दिनुहोस्