Logo

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदुत एलिजावेथ


खोटाङ, १ वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदुत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदुत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आउनुभएको हो ।

साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको स्टार्टिङ प्वइन्ट (प्रवेशद्धार) मानिएकाले राजदुत एलिजावेथ खोटाङ आउनुभएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “स्वीस राजदुतसँग समग्र विकास प्रकृयाको अवस्थाका साथै विशेषगरि पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उहाँले भन्नुभयो, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ ।”

स्वीस राजदुत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गर्नुभएको छ । गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदुत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रकृयाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताउनुभयो ।

मुन्धुम ट्रेलको लागि निर्माणाधीन पूर्वाधार विकासका गतिविधि अवलोकन गर्दै मङ्गलबार साकेला गाउँपालिका आइपुग्नुभएकी राजदुत एलिजावेथको टोली तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवाभञ्ज्याङतर्फ जानुभएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा मुन्धुम ट्रेलको काम भइरहेको जनाइएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण शुरु गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको छ ।

यस वर्ष उक्त पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत पूर्वाधारको काम भइरहेको छ । खोटाङ र भोजपुरको पर्यटन विकासमा मुन्धुम ट्रेलले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रदेशसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ ।

पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ । ठूल्ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्कहरु तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता रहेको छ ।

गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने मुन्धुम पदयात्रामा डेढ÷दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समुदायको भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा सँस्कार/सँस्कृतिको बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो ।

पर्यटन प्रर्वद्धनका लागि मुन्धुम ट्रेलको प्रवेशद्धारमा पर्ने तावाभञ्ज्याङमा कृतिम ताल निर्माण गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको छ । प्राकृतिक रुपमै पर्यटकको रोजाइमा पर्ने तावाभञ्ज्याङमा प्रदेश नं.-१ कै नमूना तथा ठूलो कृतिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृतिम तालका लागि १ नम्बर प्रदेश सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा साँढे ६०० मिटर लम्बाई र ५०० मिटर चौडाईको कृतिम ताल निर्माण हुँदैछ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृतिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृष्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँस पालन लगायतका क्रियाकलाप गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।

भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा शहीद पार्क निर्माण गर्ने योजनासमेत प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ ।

halesikhabar

प्रकाशित मिति : बिहीबार, २ बैशाख २०७८ ११:२३

Archives

प्रतिक्रिया दिनुहोस्