Logo

वाउ ! यस्तो बन्यो ‘योतेल्म्य पर्यटन सेल्टर’, गाउँपालिकाकै सिंगो पर्यटन प्रवर्धनमा नयाँ आयम थपिदै


पी. खालिङ

सोलुखुम्बु (राप्छा) । योतेल्म्य पर्यटन सेल्टर निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा माप्य दुधकोशी गाउँपालिकाबाट विनियोजित २० लाख रुपैयाँ रकमबाट ११३ फिट लम्बाई र २० फिट चौडाईको नमुना भवन निर्माण कार्य सम्पन्न भएको छ ।

पर्यटन प्रवर्धन र विकासलाई अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाको वडा नम्बर २, राप्छाको शीरमा अवस्थित योतेल्म्य (भोटेखर्क पनि भनिन्छ) भन्ने ठाउँमा पर्यटन सेल्टर निर्माण गरिएको हो ।

एल आकारको उक्त भवनमा जम्मा ६ कोठा रहेका छन् । १३/१३ फिट क्षेत्रफल भएको रुम र १८/४३ फिट क्षेत्रफल भएको डाइनिङ किचन रहेको छ । हरियो रंगको छानो हुने भवनमा लगाइएको कटिङ (ड्रेसिङ) ढुंगाको गाह्रोले पनि पनि निक्कै आकर्षण थपेको छ । हाई सिलिङ र वाल सिलिङसहितकोे फिनिसिङ गर्दा निक्कै लक्जरी रुमहरु तयार हुनेछन् ।

भवन निर्माण गरिएको स्थान राप्छा सामुदायिक वनको बीच भागमा पर्दछ । सडक सञ्जाल र गाउँभन्दा निक्कै लामो दूरी टाढा रहेको उक्त ठाउँमा निर्माण सामाग्री ढुवानी निक्कै खर्चिलो भएकाले ठूलो चुनौति खेप्नुपरेको स्थानीय यूवा नेतासमेत रहेका पर्यटन सेल्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय किरातीले बताउनुभयो । उहाँले थुप्रैखाले चुनौतिहरुको बीचमा सीमित बजेटमा भवन निर्माण कार्य सम्पन गरिएको र यसलाई पूर्णता दिनका लागि थप बजेटको व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संसारकै छानो सगरमाथाको गेटको रुपमा रहेको माप्य दुधकोशी गाउँपालिकालाई सगरमाथा क्षेत्रको पर्यटनसँग जोडेर यहाँको प्राकृतिक एवं साँस्कृतिक पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि निर्माण गरिएको यो पर्यटन सेल्टरले नयाँ आयम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकालाई सम्बृद्ध बनाउने आधारमध्ये पर्यटन पनि एक भएको उल्लेख गर्दै उहाँले यहाँको सम्भावनाहरुको उजागर गर्नका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीब्र गतिमा अघि बढाइएको बताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाको विभिन्न क्षेत्रमा पदमार्गको पहिचानसँगै घुम्नेमेरामा बुद्धपार्क, राप्छामा चिण्डो, विभिन्न ठाउँमा रक क्लाईम्बिङ सेन्टर स्थापना, विभिन्न जाति र समुदायको संस्कृतिसँग जोडिएका विविध उपजहरुको संरक्षण एवं संवद्र्धनका साथै अर्गानिक कृषिजन्य उत्पादनलाई बढावा दिने कार्यक्रमहरुलाई जोड दिइएको छ ।

जंगलको मनै लोभ्याउने त्यो अनुपम दृश्यहरुकै बीचमा निर्मित उक्त भवनको आकर्षणले जोकोहीलाई थप मोहित तुल्याउछ । यो पर्यटन सेल्टर सञ्चालनमा ल्याइएपछि खुम्बु क्षेत्र आउने पर्यटकहरु तल्लो सोलुतर्फ आकर्षित गर्न ठूलो मद्दत पुग्ने छ भने समग्रमा गाउँपालिकाको पर्यटन पदमार्गको पहिचान र यहाँभित्रको सम्भावनाहरुको उजागर गर्नेछ । र समग्रमा पर्यटन प्रवद्र्धन र विकासमा ठूलो टेवा पुर्‍याउने छ ।

फोटो फिचर:

प्रकाशित मिति : आईतवार, १० श्रावण २०७८ २२:५७

Archives

प्रतिक्रिया दिनुहोस्